सीआईए प्रमुख र तालिबानका उपप्रमुखबीच गोप्य भेट

मंगलबार, भदौ ८, २०७८

वासिङटन । अमेरिकी गुप्तचर निकाय (सीआईए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वासिङटन पोस्ट’ले मंगलबार जानकारी गराएको छ ।  अमेरिकी सङ्घीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबार भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ । एक हप्ताअघि अफगानिस्तानमा बीस वर्षदेखि अमेरिकासँग लड्दै आएको तालिबानसँग जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो । सीआईएले भने यस मामिलामा टिप्पणी गरेको छैन । यस बैठकमा अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने अगस्त ३१ को समय सीमा विस्तार गर्ने विषयमा छलफल समावेश भएको हुनसक्ने ‘द वासिङटन पोस्ट’ द्वारा सम्प्रेषित समाचारमा उल्लेख गरिएको छ । 
बाइडेन प्रशासनका सबैभन्दा विश्वस्त कूटनीतिज्ञ बन्र्सले विदेशी सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । झन्डै ११ वर्षअघि बारादरलाई सीआईएले संयुक्त अमेरिकी–पाकिस्तान मिसनमा गिरफ्तार गरेर आठ वर्षसम्म जेलमा राखेको थियो ।
तालिबान नेता बाराडरले सन् २०१८ मा रिहा भएलगत्तै अमेरिकासँग शान्ति वार्ता सुरु गरेको बताउने गरिएको छ । सोमबार तालिबानले अमेरिकी सेनाको बहिर्गमनका लागि अगस्त ३१ को समय सीमा विस्तार गर्न नसक्ने बताएको थियो । 
तालिबान प्रवक्ता सुहेल शहिनले स्काई न्युजसँगको कुराकानीमा यदि समय सीमाभित्र बहिर्गमन पूरा नभएमा यसबाट आउने ‘नतिजा’ प्रति अमेरिका जिम्मेवार हुनुपर्ने बताएका थिए । उक्त समूहले अफगानिस्तानबाट उद्धार कार्य जारी राख्न अमेरिका, बेलायतलगायतका पश्चिमी मुलुकलाई कुनै अतिरिक्त समय नदिने बताएको थियो ।

नयाँ सरकार गठनबारे छलफलमा तालिबानी नेता

तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका छ ।
तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका छन् । अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन् ।
गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए । यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिबानको सरकार कस्तो हुन्छ भन्ने बारेमा निकै चासो पूर्णरुपमा हेरेका छन् । उता तालिबानले भने अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् । तालिबानहरुको यो भनाइप्रति भने विश्व समुदाय विश्वस्त हुनसकेको छैन । यो वाचा गरेको भए पनि यसबारे धेरैमा आशंका व्यक्त भइ आएको छ । यसैकारणले पनि जतिसक्दो चाँडै सरकार गठन गर्न तालिबान लागि परेका बताइएको छ । यतिखेर भने तालिबानले अशरफ घानीको पूर्ववर्ती सरकारसँग मिलेर सङ्कटको व्यवस्थापन गरिरहेका बताइएको छ । बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् । उनको नाम अमेरिका र संयुक्त राष्ट्रसङ्घको फरार आतङ्कवादीको सूचीमा पनि रहेको छ । अघिल्लो हप्ता अफगानिस्तानलाई तालिबानले कब्जा गरेपछि अफगानिस्तान बाहिरसमेत रहेका उच्च तालिबान नेता स्वदेश फर्किन थालेका छन् । तालिबानका कतिपय नेता कतारमा रहेका बताइएको थियो । उनीहरु पनि अहिले स्वदेश फर्किरहेका छन् ।  हाल तालिवानका चार संस्थापक नेता रहेका बताइएको छ र तीमध्येका एक जना बरादर रहेका र उनी गत शनिबार पहिला कान्दहार विमानस्थल आएर त्यसपछि काबुल ओर्लिएका बताइएको थियो ।  अफगानिस्तानको कान्दहार शहरमा तालिबान धेरै रहेका छन् । तालिबानले कान्दाहारलाई आफ्नो उद्गमस्थल मान्ने गर्दछन् ।

काबुल विमानस्थल अहिले पनि अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड
काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको छ । यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ । गएको हप्तादेखि काबुलको अन्तरराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको बताइएको छ । गत अगस्त १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठूलो संख्याको सामना गर्न सङ्घर्ष गरिरहेका छन् । काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको भए पनि मानिसले सुरक्षित व्यवस्थापनको माग गरिरहेका छन् । यहाँको प्रशासनले सक्दो प्रयास गरिरहेको बताए पनि एकै पटक धेरै मानिसले देश छोड्न खोज्दा सम्भव नहुने भएकाले यहाँ अव्यवस्था देखिएको हो ।– रासस÷एएनआई
 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  २१:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार