क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै कांग्रेस महाधिवेशनमा अग्रसर

मंगलबार, भदौ ८, २०७८

काठमाडौँ । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाएका हुन् । क्रियाशील सदस्यताको बाँकी विवाद मिलाउन पार्टीले नेसिटौलासहित केन्द्रीय सदस्यद्वय डा.मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको थियो ।  क्रियाशील सदस्यतालाई अन्तिम रुप दिएसँगै यही भदौ १८ गते तोकिएको कांग्रेसको गाउँ÷नगर वडा अधिवेशन सुनिश्चित भएको छ । नेता कार्यकर्ताहरु अधिवेशनका लागि जिल्ला र गाउँ जान सुरु भइसकेको छ । नौ लाखको हाराहारीमा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन । क्रियाशील सदस्यहरुले आफने वडा समिति र क्षेत्रीय प्रतिनिभिको चयन गर्ने विधानमा उल्लेख छ । सभापति देउवाले क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेपछि प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण हुनेछ । निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण प्राप्त गरेलगत्तै एक÷दुई दिनभित्र सम्पूर्ण जिल्लामा पु¥याइसक्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । समय कम भएकाले समितिले स्थल र हवाई यातायातका साथै कतिपय हिमाली जिल्लामा हेलिकोप्टर समेत प्रयोग गर्ने उनले बताए ।  निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्ला सदरमुकाममा वडा अधिवेशनको कम्तीमा एक साता अघि र त्यसको दुई दिनभित्र प्रत्येक वडामा पु¥याउने लक्ष्य राखेको छ ।
उक्त सबै सामग्री छपाइको सम्पूर्ण काम सम्पन्न भइसकेको र सबै वडा तथा निर्वाचन समितिका लागि करिब सातदेखि आठ हजारको बण्डल बनाएर देशभर पठाइने उनले बताए । समितिले तराई र सुगमका ४१ जिल्लामा योजनाअनुसारको निर्धारित समयमै निर्वाचन सामग्री पुग्ने अपेक्षा गरेको र बाँकी हिमाली तथा विकट पहाडी ३६ जिल्लामा भने यातायातको केही चुनौती रहेको जनाएको छ । यसबाहेक पार्टीले अधिवेशनमा कोभिड–१९ को महामारी, बाढीपहिराको प्रकोपलगायत चुनौतीको पनि सामना गर्नुपर्ने देखिन्छ । 
अधिवेशनका लागि समितिले पार्टी निकट मानिने डिएलएसम्बद्ध कानून व्यवसायीहरुबाट सबै जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ । निर्वाचन अधिकृतले सम्बन्धित जिल्लाका पार्र्टी सभापति र शिक्षक सङ्घसँग समन्वय गरी वडास्तरमा मतदान अधिकृत तोक्ने संयोजक यादवले बताए  ।
कांग्रेसले पार्टीमा पूर्ण लोकतान्त्रिक अभ्यासका लागि विधानमा संशोधन गरी टोल, वडा, गाउँपालिका÷नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको तहगत व्यवस्था गरेको छ । नयाँ विधानअनुसार कांग्रेस केन्द्रीय कार्यसमिति एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य गरी कुल १६८ सदस्यीय हुनेछ ।
गत साउन ३० गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि गाउँ-नगर-उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ÷नगर÷उपमहानगर-महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरेको छ ।   
साउन ३० गतेकै केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँ-नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना
नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गरेका छन् । 
कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले आज सो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएको नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । धर्नामा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा.शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाएको थियो । 
यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत सो मागका बारेमा जानकारी गराएका थिए । 
यसैबीच सोमबार राति कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङग्याएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको छ । सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरेलगत्तै सो प्रतिवेदन पार्टीको वेवसाइटमार्फत सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ । सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले यही भदौ १८ गते हुने पार्टीको गाउँ-नगर वडा अधिवेशनका लागि भदौ १० गतेसम्म सबै जिल्लामा पु¥याइसक्ने पनि समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार