अमेरिकामाथि फौज फिर्तीको समयसीमा लम्ब्याउन दबाब

अफगानिस्तान संकट 
मंगलबार, भदौ ८, २०७८

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले राष्ट्रपति जो बाइडनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन् । राष्ट्रपति बाइडनलाई उनका साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नु पर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् । मङ्गलवार हुने भर्चुअल जी–सेभेनको शीर्ष बैठकमा उक्त विषय प्रमुख मुद्दा हुनेछ । तालिबानहरूले अर्को हप्ताभन्दा पछिसम्म अमेरिका बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् ।
दबाब
स्थल सीमाबाट आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकीहरूसँग पनि कुराकानी भइरहेको छ । यसअघि आफ्ना साझेदारहरूबाट उद्धारको समयसीमालाई अगष्ट ३१ बाट बढाउन माग गरिएको भएपनि अमेरिकाले तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि उक्त समयसीमा परिवर्तनको पक्षमा नरहेको बताइरहेको छ । तर यूके, फ्रान्स र जर्मनीले जी सेभेनको बैठकमा त्यसो नगर्न दबाब बढाउनेछन् । तालिबानले समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने जनाएको छ । हालसम्म अफगानिस्तानबाट दशौँ हजारलाई उद्धार गरिएको छ तर भाग्न खोजिरहेका अरू मानिसहरू काबुल विमानस्थलभित्र वा नजिकै कोचिएर बसिरहेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले अबको २४ घण्टाभित्र फौजहरूको स्वदेश फिर्तीको समयसीमा बढाउने या नबढाउनेबारे निर्णय लिने रोएटर्स समाचार संस्थाले जनाएको छ । नाम नखुलाइएका एक अधिकारीले पेन्टागनलाई तयारी गर्न समय दिने हिसाबले त्यसो गरिने उनले बताए । अमेरिकी फौज फिर्ता भए ब्रिटेनका फौजमात्रै बसिरहन सम्भव नहुने जस्तो देखिन्छ ।

विमानस्थलमा आक्रोश
सोमबार काबुल विमानस्थलमा दर्जनौँको भिडले बीबीसीका सेकन्दर केरमानी सामु जम्मा भएर विमानमा आफूलाई चढ्न अनुमति नदिइएको भन्दै आफ्नो कागजपत्र देखाएका थिए । एकजना क्यानडाली अधिकारीले भिड ुआक्रोशित हुँदा हिंसा सामान्य बनिरहेकोु बताए । अमेरिकी मेजर जनरल ह्यांक टेलरले सोमबार २४ घण्टामा १६ हजार जनाको उद्धार गरिएको जानकारी दिए । यसले अगष्ट १४ यता उद्धार हुनेको सङ्ख्या ३७ हजार पुगेको उनको भनाइ छ । अमेरिकी फौज फिर्ता भएपछि तालिबानले अघि बढाएको सत्ता नियन्त्रण अभियान काबुल आइपुग्न लागेपछि उक्त हवाई उद्धार कार्य थालिएको थियो । हालसम्म उत्तर पूर्वी काबुलमा रहेको पान्जसीर क्षेत्र मात्रै तालिबानको नियन्त्रणमा आउन बाँकी छ । उक्त क्षेत्र तालिबान विरोधीको गढ हो र त्यहाँ हजारौँ व्यक्तिहरूले लड्न तयार रहेको धारणा राखेका विवरण आएका छन् ।–बीबीसी 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार