आफ्ना विदेशमन्त्री तत्काल अफगानिस्तान जाने कार्यक्रम छैन : पाकिस्तान 

सोमबार, भदौ ७, २०७८

इस्लामावाद । पाकिस्तान सरकारले आफ्ना विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने भन्दै गरिएको हल्ला मात्र भएको बताएको छ । आइतबार पाकिस्तानका केही सञ्चारमाध्यमहरुले पाकिस्तानका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने समाचार सार्वजनिक गरेका थिए ।  तर पाकिस्तानले भने सो समाचार सत्य नभएको जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरेर सो समाचारमा कुनै सत्यता नभएको र पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको भ्रमण गर्ने कुरा हल्लामात्र भएको जनाएको हो । पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानको भ्रमण गर्ने भन्ने समाचार आएपछि विदेश मन्त्रालयलका प्रवक्ता जाहिद हाफिज चौधरीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन् । उनले आइतबार साँझ प्रकाशन गरेको विज्ञप्तिमा भनेका छन्, ‘यो सबै हल्लामात्र हो, पाकिस्तानका विदेशमन्त्री अहिले अफगानिस्तानको भ्रमणमा जाने कुनै कार्यक्रम नै छैन ।’ 
यसअघि पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको विषयमा आवश्यक छलफल र परामर्श गर्नका लागि भन्दै विभिन्न छिमेकी देशको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।  विदेश मन्त्रालयका प्रवक्ता चौधरीले अहिले सो कार्यक्रम पनि स्थगित गरिएको र अफगानिस्तानका विषयमा आवश्यक सहयोगका लागि रुस, जर्मनी, टर्की, बेल्जियम तथा नेदरल्याण्डका विदेशमन्त्रीसँग फोनमा सम्वाद भने गर्नुभएको उनले जानकारी दिए ।–रासस/सिन्ह्वा 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार