काबुल विमानस्थलमा आतङ्ककारी आक्रमण हुन सक्ने भन्दै अमेरिकाद्धारा चिन्ता

आफ्ना नागरिकले अमेरिकाले भन्यो, ‘काबुल विमानस्थल नजिक नबस’
आइतबार, भदौ ६, २०७८

काबुल । इस्लामिक स्टेट आईएस समूहको अफगानिस्तान शाखाबाट आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल नजिक नरहन सचेत गराएको छ ।अफगानिस्तानस्थित अमेरिकी दूतावासले शनिवार जारी गरेको एउटा सुरक्षा सतर्कतामा सम्भावित सुरक्षा चुनौतीका कारण अमेरिकी नागरिकहरूलाई विमानस्थलको गेट बाहिर नरहन भनिएको छ । ।अमेरिकी सरकारका प्रतिनिधिले व्यक्तिगत रूपमा यात्रा गर्न भनिएकाहरूले मात्रै त्यो बाटो प्रयोग गर्न दूतावासले भनेको छ । अमेरिकी रक्षा अधिकारीहरूले घटनाक्रमहरूको अनुगमन गरिरहेको र विमानस्थल पुग्ने वैकल्पिक बाटोहरूको खोजी भइरहेको बताएका छन् । आईएसको सम्भावित सुरक्षा चुनौती के हो भन्नेबारे अमेरिकी अधिकारीहरूले थप खुलाएका छैनन् । आईएसले पनि सार्वजनिक रूपमा राजधानी काबुलमा आक्रमण गर्ने चेतावनी दिएको छैन । राजधानी काबुल अफगानिस्तानको हतियारधारी विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएसँगै देश छोड्न काबुल विमानस्थल बाहिर हजारौँ मानिसहरूको निरन्तर भिड देखिएको छ । भिडमा मानिसहरू च्यापिएको समाचार आइरहेका बेला अमेरिकाले आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन भनेको हो । तालिबानले प्रतिशोध साँध्ने डरले यसअघि अमेरिका र उसका सहयोगीहरूका लागि काम गर्ने मानिसहरू र मानवअधिकारको क्षेत्रमा वकालत गर्नेहरू अफगानिस्तान छोड्न प्रयासरत छन् । शनिवार विमानस्थलमा भएको घटनाबारे यथार्थ बाहिर नआइसकेको भए पनि स्काई न्यूजले हजारौँको भिडमा च्यापिएर केहीको मृत्यु समेत भएको हुनसक्ने आशङ्का गरिएको बताएको छ । अमेरिकी रक्षा विभागले शनिवार सम्म २,५०० अमेरिकी नागरिकसहित १७,००० मानिसहरूलाई काबुल विमानस्थलबाट उद्धार उडानमा समेटिएको जनाएको छ । एक अधिकारीले अमेरिकाले उद्धार गर्न चाहेका अमेरिकी र अफगानमध्ये सानो सङ्ख्यामा केहीले दुर्व्यवहार खेपेको र कतिपयलाई विमानस्थल जाने क्रममा कुटपिट समेत गरिएको बताएका छन् । विमानस्थल बाहिरको भिडबाट जोगिन जर्मनी र स्वीजरल्याण्डलगायत अन्य देशहरूले समेत आफ्ना नागरिकलाई सचेत गराइसकेका छन् । अमेरिकी सुरक्षा फौजले काबुल अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएर उद्धार उडानहरू सञ्चालन गरिरहेको छ । अमेरिकाले अबको एक सातापछि अफगानिस्तानबाट आफ्नो सबै फौज फिर्ता गर्ने भनिसकेका कारण त्यसपछि के हुने हो भन्ने अन्योल देखिन्छ । तर नेटो गठबन्धनका महासचिव जेन स्टोलटनवर्गले त्यसपछि पनि काबुल विमानस्थलबाट उद्धार उडान सुचारु राख्न प्रस्ताव गरिएको बताएका छन् ।–बीबीसी

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार