जापानमा सङ्कटकाल लम्बियो  

सोमबार, साउन ३२, २०७८

टोकियो (जापान) जापानी सरकारले टोकियो सहरसहितका पाँच प्रशासनिक केन्द्र (प्रिफेक्चर) मा कोभिड–१९ नियन्त्रणका लागि जारी सङ्कटकाललाई लम्ब्याउन निर्णय गरेको जापानको राष्ट्रिय पत्रिका असाहीले जापानी अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । जापानले मङ्गलबारदेखि थप तीन प्रिफेक्चरमा महामारी नियन्त्रणका लागि भन्दै सङ्कटकाल घोषणा गरेको हो । 
यद्यपि यस निर्णयलाई मङ्गलबार विज्ञपरिषद्सँगको परामर्शपछि सरकारी कोरोनाभाइरस प्रतिरोधका लागि गठित निकायको बैठकमार्फत औपचारिकता दिइने बताइएको छ ।  कोभिड–१९ सङ्क्रमणका घटनामा हालै देखिएको वृद्धि रोक्नका लागि सरकारले मङ्गलबारदेखि टोकियो, ओकिनावा, साइतामा, चिबा, कानागावा, ओसाकाका प्रिफेक्चरमा सेप्टेम्बर १५ सम्मका लागि सङ्कटकाल अवधि लम्ब्याउने बताएको असाहीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 
यसअघिको निर्णयअनुसार यी क्षेत्रमा अगस्त ३१ रातिदेखि स्वास्थ्यजन्य सङ्कटकालीन अवस्था समाप्त हुने बताइएको थियो । जापानमा पहिलेभन्दा थप तीन प्रिफेक्चरहरू, क्योटो, ह्योगो र फुकुओकामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । यी क्षेत्रमा हाल हल्का प्रतिबन्धहरू मात्र लागू भएका थिए ।  टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै पाँच हजारको हाराहारीमा पुगेपछि सरकारले टोकियोसहितका प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्यजन्य सङ्कटकालीन अवस्थाको घोषणा गर्न लागेको हो । 
गत हप्ता देशभर कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्या पहिलो पटक २० हजारभन्दा बढी पुगेको थियो । विशेषज्ञहरूले सङ्क्रमण वृद्धिको अवस्था एकदमै चिन्ताजनक अवस्थातर्फ गएको सुझाव सरकारलाई दिएको बताइएको छ । ओकिनावामा गम्भीर लक्षणहरू भएकाहरूका लागि अस्पतालको व्यवस्था गरिएका निःशुल्क शय्याको अभाव देखिएको छ भने सोमबार पहिलो पटक गम्भीर अवस्थामा भएका बिरामीहरूको सङ्ख्या एक हजार ६०० भन्दा बढी पुगेको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार