अफगानिस्तानको विषयलाई लिएर ट्रम्पद्वारा बाइडेनको राजीनामा माग     

सोमबार, साउन ३२, २०७८

वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन् । अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडेनको राजीनामा मागेका हुन् । 
अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरुलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ । आइतबार जारी गरेको वक्तव्यमा ट्रम्पले लेखेका छन्, “अफगानिस्तानमा देखिएको असफलताका कारण अव बाइडेनले राजीनामा दिनुपर्ने बेला आएको छ ।”  
अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडेन प्रशासन नै भएको ट्रम्पको आरोप छ । आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उनले व्यक्त गरेका छन् । 
अफगानिस्तानका राष्ट्रपति घानीले देश छोडेको र तालिबान लडाकूहरुले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी गरेका हुन्  तालिवान विद्रोहीहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेका छन् । देश छाडेपछि उनले थप रक्तपात हुन नदिन र अरु लाखौँको मृत्यु हुने घटनाबाट जोगाउनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छाडेको स्पष्ट पारेका छन् । 
स्रोतका अनुसार अव तालिबान लडाकूहरुका तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् । तालिवान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहर नियन्त्रणमा लिएका छन् । उनीहरुले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।–रासस÷एएनआई
 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  २१:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार