काबुलस्थित राष्ट्रपति कार्यालयमा तालीबानकाे कब्जा

सोमबार, साउन ३२, २०७८

काबुल ।  तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको छ । राष्ट्रपति अशरफ घानी आइतवारै देश छाडेर भागेपछि तालिबानले यस्तो दाबी गरेको हो । अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो । तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएका छन् । अर्का एक प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन् । स्थानीय पत्रकार बिलाल सार्वारीका अनुसार तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति घानीले आफ्ना सहयोगीहरू सहित देश छाडेका छन् ।  राष्ट्रपति कार्यालयमा तालिबानले गरेको कब्जाबारे सरकारी अधिकारीबाट पुष्टि भएको छैन

अमेरिकी दूतावास सारियो
काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छाड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ । हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको थियो । आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १,४०० अमेरिकी कर्मचारी थिए । तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिने जनाइएको छ ।-एजेन्सी 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार