काबुलमा विद्रोही समूह तालिबान प्रवेश गरेपछि राष्ट्रपति घानी देश छाडेर भागे 

आइतबार, साउन ३१, २०७८

काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाड्ेका छन् ।  विद्रोही तालिबान लडाकूहरू देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाड्ेको स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएका हुन् । स्थानीय टोलो समाचारलाई उद्धृत गर्दै राष्ट्रपति घानीले आइतबार साँझ देश छाड्ेको हुन् ।  स्रोतका अनुसार तालिबान लडाकूहरूको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् ।    घानीसहित उनी नजिकका केही मानिसहरूले पनि अफगानिस्तान छाडेका छन् । उनीहरूका बारेमा विस्तृतमा केही बताइएको छैन ।
घानी सरकारका मन्त्रीहरूले भने आम नागरिकलाई धैर्यधारण गर्न र नडराउन आग्रह गरेका छन् । उनीहरूले नागरिकको सुरक्षा हुने आश्वासन दिएका छन् । तालिबान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटर मार्फत राजधानी काबुलस्थित जिल्ला प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् ।
यसबारेमा घानी सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया भएको छैन । आइतबार दिउँसैदेखि तालिबानी लडाकूहरू राजधानी काबुल प्रवेश गरेका थिए । तालिबान लडाकूहरूले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू नियन्त्रणमा लिएका छन् । आफ्नो सरकारले तालिबान विद्रोहीहरूलाई रोक्न नसकेपछि घानी राजीनामा दिनुपर्ने अवस्थामा पुगेका थिए ।  तर आइतबार दिउँसोसम्म पनि राष्ट्रपतिको कार्यालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । सरकारी अधिकारीहरूले स्थिति नियन्त्रणमा नै रहेको दाबी गरेका थिए ।  राष्ट्रपतिको कार्यालयले ट्वीटरमा लेखेको थियो, “काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरूले विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ ।”
तालिबान समूहले भने काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । विद्रोहीहरूले देशका अन्य भागलाई आफ्नो नियन्त्रणमा लिन थालेपछि हजारौँ मानिस शरणका लागि काबुल आएका थिए । 

तालिबान लडाकूहरूद्वारा सयौँ कैदी जेलमुक्त 
अफगानिस्तानको एउटा कारागारबाट तालिबान लडाकूहरूले सयौँ बन्दी कैदीहरूलाई जेलमुक्त गरिदिएका छन् । देशका प्रमुख सहरहरू कब्जा गर्ने क्रममा विद्रोही लडाकूहरूले देशको चारीकार कारागारबाट उनीहरूलाई कारागारमुक्त गरेको हो ।   कारागारमा थुनिएका आफ्ना लडाकूहरूसहित झण्डै ६०० जनालाई कारागारमुक्त गरिएको विद्रोहीहरूले जानकारी दिएका छन् ।  कारागार सुरक्षाको जिम्मेवारी लिएका उच्च पदाधिकारीहरूको लापरबाहीका कारण लडाकूहरूले सजिलै कैदीहरूलाई जेलमुक्त गरेको बताएको छ ।  कारागारमा लागुऔषध कारोबार, हत्या, चोरीलगायतका अपराधमा संलग्न अपराधिहरूलाई समेत राखिएको थियो ।  “विद्रोही लडाकूहरूले आक्रमण गरेको कारागारमा राखिएकामध्ये अधिकांश कैदीहरू लागुऔषध कोरोबार, अपहरण, हत्या, चोरीलगायतका अपराधमा संलग्न अपराधीहरू रहेका थिए,” जेल प्रशासन निर्देशक सफिउल्लाह जालाल्जैले भने ।  तालिबान विद्रोहीहरूले जेलमुक्त गराएका ६३० कैदीहरूमध्ये १३ जना महिला र तीन जना विदेशी रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
त्यसैगरी जेलमुक्त गरिएका कूल कैदीहरूमध्ये १८० जना तालिबान लडाकू नै रहेका छन् । “उनीहरूमध्ये १५ जना नेतृत्व तहका लडाकू थिए, उनीहरूलाई अफगानिस्तान सरकारले आजीवन काराबासको सजाय तोकेको थियो,” एक अधिकारीले भने ।  
तालिबान लडाकूहरूले यसअघि निम्रोज प्रान्तको जारान्ज सहरमा रहेको कारागारबाट ३५० जनालाई जेलमुक्त गरेका थिए । उनीहरूमध्ये ४० जना तालिबान लडाकू रहेका थिए ।  विद्रोही लडाकूहरूले अन्य ठाउँमा रहेका विभिन्न कारागारहरूबाट समेत सयौँ कैदी÷बन्दीहरूलाई जेलमुक्त गराएका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  २२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार