सोसल मिडिया
Contact Us
युनिकोड
नुवाकोट । विदुर नगरपालिका–७, तुप्चेटारमा बाढी प्रभावित तथा उद्धार गरिएका पशुपन्छीको उपचार र स्वास्थ्य व्यवस्थापनका लागि निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल र विदुर नगरपालिकाको सहकार्यमा सञ्चालित शिविरमार्फत प्रभावित पशुपन्छीलाई उपचार सेवा प्रदान भइरहेको छ ।
विदुर नगरपालिकाको पशु सेवा शाखा प्रमुख डा. सुजाता अधिकारीका अनुसार भदौ १० गते आएको बाढीपछि उद्धार गरिएका करिब ४० वटा पशुपन्छीको विवरण नगरपालिकामा प्राप्त भएको थियो । प्रभावित पशुपालक किसानले उपचारका लागि नगरपालिका समक्ष आग्रह गरेपछि नगरपालिकाले विभिन्न प्राविधिक परिचालन गरी पहिलो चरणमा उद्धार गरिएका पशुपन्छीको उपचार गरेको थियो । केही पशुको उपचार स्थानीय स्तरमै गरिएको थियो ।
बाढीपछि पशुपन्छीको स्वास्थ्य सुरक्षासँगै मृत पशुको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको अधिकारीले बताइन् । उनका अनुसार एफएओ नेपालको सहयोगमा विदुर नगरपालिकाका चार स्थानमा उपभोक्ता समिति गठन गरी भग्नावशेष तथा मृत पशु व्यवस्थापनसम्बन्धी काम अघि बढाइएको छ ।
उनले भनिन्, ‘भदौ १० गते आएको बाढीपछि उद्धार गरिएका करिब ४० वटा पशुपन्छीको विवरण नगरपालिकामा प्राप्त भएको थियो । प्रभावित किसानको आग्रहअनुसार नगरपालिकाले विभिन्न प्राविधिक परिचालन गरी पहिलो चरणमा उद्धार गरिएका पशुपन्छीको उपचार गरिसकेको छ । अहिले एफएओ नेपालको सहयोगमा विदुर नगरपालिकाका चार स्थानमा उपभोक्ता समिति गठन गरेर मृत पशु तथा अन्य अवशेष व्यवस्थापनको काम पनि अघि बढाइएको छ । पशुपन्छीको स्वास्थ्य सुरक्षा र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन भइरहेको छ ।’
विदुर नगरपालिका–१० र वडा नम्बर ५ मा मृत पशु व्यवस्थापनको काम सञ्चालन भइरहेको छ । बाढीका कारण बाँकी रहेका पशुका हड्डी तथा अन्य अवशेषलाई निर्धारित मापदण्डअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गरी निःसंक्रमण गर्ने लगायतका काम भइरहेको छ ।
वडा नम्बर ७ तुप्चे क्षेत्रमा भने खोलापारि भएकाले आवश्यक सामग्री ढुवानीमा कठिनाइ हुँदा काम सुरु गर्न केही ढिलाइ भएको अधिकारीले जानकारी दिइन् । आवतजावत सहज हुनेबित्तिकै मृत पशु व्यवस्थापनको काम तीव्र रूपमा अगाडि बढाइने उनको भनाइ छ । यसले जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बाढीबाट जोगिएका पशुपन्छीको संरक्षणका लागि नगरपालिकाले विभिन्न सहयोग कार्यक्रमसमेत सञ्चालन गरेको छ । प्रभावित किसानलाई यसअघि पशु आहार वितरण गरिएको थियो । विभिन्न संघसंस्थाको सहयोगमा प्राप्त औषधि निःशुल्क वितरण गर्नुका साथै वडा नम्बर ७ मा पशुपन्छीको स्वास्थ्य समस्याअनुसार औषधि उपलब्ध गराइएको अधिकारीले बताइन् ।
यसैगरी, अन्य संस्थासँगको सहकार्यमा प्रभावित किसानलाई २०० बोरा पशु आहार वितरण गरिएको छ । अझै केही औषधि मौज्दात रहेकाले आवश्यकताअनुसार प्रभावित पशुपालकलाई निःशुल्क उपलब्ध गराइने उनले जानकारी दिइन् ।
डा. अधिकारीका अनुसार बाढीबाट विदुर नगरपालिकाभित्र पशुपन्छी तथा पशुपालन क्षेत्रमा ठूलो क्षति पुगेको छ । हालसम्म प्राप्त विवरणअनुसार बाख्रा, कुखुरा तथा गाईपालन गर्ने ५५ वटा ठूला फार्ममा क्षति पुगेको अभिलेख नगरपालिकामा प्राप्त भएको छ । त्यस्तै, ३३० जना किसानले आफ्ना पशुपन्छीमा भएको क्षतिको विवरण नगरपालिकामा टिपाएका छन् ।
क्षति पुगेका किसानको जीविकोपार्जन पुनःस्थापना गर्न नगरपालिकाले विभिन्न संघसंस्थासँगको सहकार्यमा योजना निर्माण गरिरहेको छ । विशेषगरी कुखुरापालन तथा बंगुरपालनजस्ता वैकल्पिक व्यवसायमार्फत प्रभावित किसानलाई छिटो पुनःस्थापित गर्न सकिने विषयमा छलफल र योजना निर्माण भइरहेको अधिकारीले बताइन् । हाल उक्त कार्यक्रम योजनाकै चरणमा रहेको उनको भनाइ छ ।
बाढीले कृषि तथा पशुपालन क्षेत्रमा ठूलो क्षति पुर्याएपछि किसानको मनोबलसमेत कमजोर भएको उनले बताइन् ।