एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स नेपालका लागि ऐतिहासिक अवसर हो : डा.शाह

विश्वभरका ५० देशका स्वास्थ्य विज्ञहरु जनकपुर आउने, नेपालका लागि ऐतिहासिक अवसर
आइतबार, मंसिर १३, २०८३

काठमाडौं । विदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई नेपालको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले हुन लागेको छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ ।   गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा मधेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्य तथा नेपाल सरकार, मधेश प्रदेशका स्थानीय निकाय र विभिन्न संघसंस्थाको सहयोगमा यही मंसिर १८ र १९ गते जनकपुरधाममा सम्मेलन हुन लागेको हो । सम्मेलनको तयारी अन्तिम चरणमा रहेको आयोजकको भनाइ छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस सम्मेलनमा विभिन्न देशका ५० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ता तथा नेपालका स्वास्थ्य क्षेत्रका विज्ञ, विश्वविद्यालयका उपकुलपति, नीतिनिर्माता, राजनीतिक व्यक्तित्व र सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजक समितिका अध्यक्ष डा. सुनिल शाहका अनुसार यसअघि अमेरिका, बेलायत, अस्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा आयोजना भइसकेको सम्मेलनको यो छैटौं संस्करण हो । यसपटक भने काठमाडौं बाहिर पहिलोपटक जनकपुरधाममा आयोजना गर्न लागिएको हो। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सम्मेलनलाई नेपालको स्वास्थ्य प्रणालीमा रहेका चुनौतीबारे अन्तर्राष्ट्रिय विज्ञसँग छलफल गर्ने र देशको स्वास्थ्य नीतिमा सुधारका लागि आवश्यक अवधारणा तयार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए।

‘ब्रेन सर्कुलेसन’ लाई मुख्य विषय बनाइने

यस वर्षको सम्मेलनको मुख्य विषय विदेशमा रहेका नेपाली तथा नेपाली मूलका दक्ष जनशक्तिको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने रहेको छ । आयोजकले यसलाई ब्रेन सर्कुलेसन अर्थात् प्रतिभा र ज्ञानको आवागमनका रूपमा व्याख्या गरेको छ । डा. शाहका अनुसार नेपालबाट विदेशिने दक्ष जनशक्तिलाई तत्काल स्वदेश फर्काउने विषय मात्रै उठाएर समस्या समाधान नहुने भएकाले विदेशमा रहेका विज्ञलाई नेपालसँग जोड्ने दीर्घकालीन नीति आवश्यक छ । उनले नेपालमा विदेशमा रहेका दक्ष जनशक्तिलाई स्वदेश फर्काउने वा उनीहरूको ज्ञान र सीपलाई देशको विकासमा उपयोग गर्ने स्पष्ट सरकारी संरचना र कार्ययोजना नभएको बताए । उनले भने, ‘रिभर्स माइग्रेसन अहिलेको अवस्थामा नेपालका लागि निकै कठिन काम हो। त्यसैले ब्रेन सर्कुलेसनको विषयमा सोच्नुपर्छ । विदेशमा रहेका नेपाली विज्ञलाई कसरी नेपालको विकाससँग जोड्ने भन्ने विषयमा कुनै स्पष्ट संरचना छैन। उनीहरू नेपाल आउन चाहेमा कुन आधारमा काम गर्ने, कति दिनको भिसा चाहिने, कार्य अनुमति र दर्ताको प्रक्रिया के हुने भन्ने विषयमा पनि स्पष्ट व्यवस्था आवश्यक छ ।’ उनका अनुसार चीन र भारतले विदेशमा रहेका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन तथा उनीहरूको ज्ञान र सीप उपयोग गर्न विभिन्न कार्यक्रम र नीतिगत व्यवस्था गरेका छन् । चीनले हजारौं प्रतिभाशाली प्राध्यापक, चिकित्सक तथा वैज्ञानिकलाई स्वदेश फर्काउने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरेको उदाहरण दिँदै नेपालले पनि यस्ता अभ्यासबाट सिक्नुपर्ने उनको भनाइ छ । भारतमा पनि सूचना प्रविधि क्षेत्रको विकासका लागि विदेशमा रहेका भारतीय विज्ञलाई स्वदेश फर्काउने प्रयास विगतदेखि नै हुँदै आएको उनले बताए । नेपालले पनि विदेशमा रहेका चिकित्सक, नर्स, वैज्ञानिक, इन्जिनियर, अनुसन्धानकर्ता तथा अन्य दक्ष जनशक्तिलाई स्वदेशसँग जोड्ने उपयुक्त नीति बनाउनुपर्नेमा उनले जोड दिए ।

 जनशक्ति व्यवस्थापनमा चुनौती

डा. शाहले नेपालमा दक्ष जनशक्ति व्यवस्थापनको अर्को प्रमुख समस्या विकास र पूर्वाधारको केन्द्रीकरण भएको बताए । उनका अनुसार देशका अधिकांश अवसर, स्वास्थ्य सेवा, शैक्षिक संस्था र पूर्वाधार काठमाडौंमा केन्द्रित हुँदा अन्य क्षेत्रमा दक्ष जनशक्ति आकर्षित गर्न कठिन भइरहेको छ । विदेशबाट नेपाल फर्कने कुनै विशेषज्ञ चिकित्सक, वैज्ञानिक वा इन्जिनियरले काम गर्न चाहेको अवस्थामा पनि उनीहरूको पहिलो रोजाइ काठमाडौं नै हुने गरेको उनले बताए । अन्य सहरमा आवश्यक पूर्वाधार, सुविधा र अवसरको अभाव हुँदा जनशक्ति देशका विभिन्न क्षेत्रमा समान रूपमा वितरण हुन नसकेको उनको भनाइ छ। उनका अनुसार भारतमा विभिन्न राज्यमा धेरै ठूला सहर र अवसरका केन्द्र रहेका छन् । तर नेपालमा काठमाडौं बाहिरका सहरमा आवश्यक पूर्वाधार र सेवा विस्तार हुन नसक्दा दक्ष जनशक्ति तथा लगानीसमेत राजधानी केन्द्रित हुने गरेको छ । डा. शाहले काठमाडौंको अव्यवस्थित सहरी संरचना, कमजोर सडक पूर्वाधार र सीमित विस्तार क्षमताले दीर्घकालीन विकासमा चुनौती सिर्जना गरेको टिप्पणी गरे। देशको विकासलाई राजधानी केन्द्रित सोचबाट बाहिर निकाल्नुपर्ने भन्दै राजनीतिक नेतृत्व र नीतिनिर्माताले देशका विभिन्न स्थानमा पुगेर त्यहाँको वास्तविक अवस्था बुझ्नुपर्ने उनको भनाइ छ। सम्मेलनमा स्वास्थ्य सेवामा समानता र सबै नागरिकको स्वास्थ्य सुरक्षाको विषयलाई पनि प्राथमिकताका साथ उठाइने भएको छ । डा. शाहका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकले पनि आर्थिक रूपमा सम्पन्न नागरिकसरह गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ। तर नेपालमा सरकारी र निजी अस्पतालबीच सेवा सुविधाको गुणस्तर तथा उपचारमा पहुँचको ठूलो अन्तर रहेको उनको भनाइ छ । उनले निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्न सक्ने नागरिकले उच्चस्तरीय सेवा पाउने तर आर्थिक अवस्था कमजोर भएका नागरिकले त्यस्तो सेवा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । त्यस्तै मधेश प्रदेशलगायत विभिन्न क्षेत्रमा स्वास्थ्य बिमा र स्वास्थ्य सेवाको पहुँच कमजोर रहेको विषय पनि सम्मेलनमा छलफल गरिनेछ । आर्थिक अवस्था कमजोर भएका तथा वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले समेत सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने व्यवस्था आवश्यक रहेको उनले बताए ।

चार मुख्य विषयमा प्यानल छलफल

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा भाषण र औपचारिक कार्यक्रमभन्दा विषयगत छलफललाई प्राथमिकता दिइने छ । सम्मेलनमा मुख्यतः विदेशमा रहेका दक्ष जनशक्तिको उपयोग, स्वास्थ्य सेवामा समानता, स्वास्थ्य सुरक्षा तथा अनुसन्धान र नवप्रवर्तनका विषयमा छलफल हुनेछ । उनका अनुसार प्रत्येक विषयमा सम्बन्धित विज्ञले सुरुमा छोटो प्रस्तुति दिने र त्यसपछि सहभागीहरूबीच विस्तृत प्यानल छलफल गरिनेछ । डा. शाहले सम्मेलनमा विदेशमा रहेका नेपाली विज्ञ र नेपालका नीतिनिर्मातालाई एउटै टेबलमा राखेर छलफल गराउने उद्देश्य रहेको बताए। उनका अनुसार विदेशमा रहेका विज्ञलाई नेपालमा फर्काउन मात्रै नभई उनीहरूको अनुभव, ज्ञान र सीपलाई देशको स्वास्थ्य प्रणाली, अनुसन्धान र संस्थागत विकासमा कसरी समेट्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।

करिब २५० सहभागी, गुणस्तरीय छलफलमा जोड

आयोजकले सम्मेलनमा करिब २५० जना सहभागी हुने अपेक्षा गरेको छ । ठूलो संख्यामा सहभागी जुटाउनेभन्दा सीमित तर सम्बन्धित विषयका जानकार, विज्ञ, नीतिनिर्माता र सरोकारवालाबीच गहन छलफल गराउने उद्देश्य राखिएको डा. शाहले बताए। उनका अनुसार सम्मेलनमा बेलायतका विभिन्न १० विश्वविद्यालयसँग सम्बन्धित प्रतिनिधिसहित २५ भन्दा बढी सहभागी आउने अपेक्षा गरिएको छ । त्यस्तै अमेरिका, अस्ट्रेलिया, जर्मनी, बेल्जियमलगायत युरोपेली मुलुक तथा भारत, बंगलादेश र पाकिस्तानबाट पनि विज्ञ तथा प्रतिनिधि सहभागी हुनेछन् । उनले सम्मेलनमा विदेशी र नेपाली सहभागीबीच कुनै विभेद नगरी सबैलाई समान रूपमा छलफलमा सहभागी गराइने बताए। सबै सहभागीलाई विषयगत छलफलमा सक्रिय रूपमा सहभागी गराउने र उनीहरूको अनुभव तथा सुझाव संकलन गर्ने आयोजकको तयारी छ । सम्मेलनको नाम स्वास्थ्य सम्मेलन भए पनि यसको छलफल स्वास्थ्य क्षेत्रका चिकित्सक र नर्समा मात्रै सीमित नहुने डा. शाहले स्पष्ट पारे। उनका अनुसार विदेशमा रहेका वैज्ञानिक, इन्जिनियर, अनुसन्धानकर्ता, व्यवसायी तथा अन्य व्यावसायिक क्षेत्रका दक्ष जनशक्तिलाई पनि देशको विकास प्रक्रियासँग जोड्नु सम्मेलनको मुख्य उद्देश्य हो । उनले ब्रेन सर्कुलेसन स्वास्थ्य क्षेत्रको मात्रै नभई समग्र राष्ट्रिय विकास र सरकारी नीतिसँग जोडिएको विषय भएको बताए । विदेशमा रहेका नेपालीले आफ्नो ज्ञान र अनुभव नेपालमा उपयोग गर्न सक्ने वातावरण बनाउन सरकारले आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। उनले सम्मेलनबाट आएका सुझाव र निष्कर्षलाई सरकारले आगामी दिनमा नीतिगत छलफल र कार्ययोजनामा समेट्नुपर्ने बताए ।

जनकपुरधाममा विश्व सम्मेलन किन ?

यसपटक सम्मेलन जनकपुरधाममा आयोजना गर्नुको उद्देश्य राजधानीबाहिर पनि अन्तर्राष्ट्रियस्तरको बहस र नीतिगत छलफल गर्न सकिन्छ भन्ने सन्देश दिनु रहेको आयोजकले जनाएको छ । डा.शाहका अनुसार नेपालमा आयोजना हुने अधिकांश अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमै केन्द्रित हुने गरेका छन्। त्यसलाई परिवर्तन गर्दै प्रदेश राजधानीमा अन्तर्राष्ट्रिय विज्ञ र नीतिनिर्मातालाई एकै ठाउँमा ल्याउनु सम्मेलनको अर्को विशेषता हो । स्थानीय आयोजक समितिको नेतृत्व मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्राध्यापक डा. अङ्कुर शाहले गरिरहेका छन्। वैज्ञानिक समितिको नेतृत्व प्राध्यापक डा. पदम सिम्खडाले गरिरहेका छन् भने ग्लोबल हेल्थ कमिटीको नेतृत्व डा. सुनिल शाहले गरिरहेका छन् । डा. शाहका अनुसार मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थासँगको सम्बन्ध विस्तार गर्न र भविष्यमा स्वास्थ्य शिक्षा तथा पूर्वाधार विकासमा सहयोग पु¥याउन सक्छ । उनले जनकपुरमा सम्मेलन आयोजना गर्दा स्थानीय स्वास्थ्य क्षेत्रको अवस्था, पूर्वाधार र आवश्यकताबारे अन्तर्राष्ट्रिय विज्ञले प्रत्यक्ष जानकारी लिन सक्ने बताए । एनआरएनएले यसअघि विभिन्न मुलुकमा आयोजना गरेका सम्मेलनमार्फत नेपालको स्वास्थ्य प्रणालीबारे अन्तर्राष्ट्रियस्तरमा छलफल गर्दै आएको थियो। यसपटक भने विदेशमा रहेका विज्ञलाई नेपालमै आमन्त्रण गरेर देशको स्वास्थ्य प्रणाली र नीतिगत आवश्यकताबारे प्रत्यक्ष छलफल गर्न लागिएको हो । डा. शाहका अनुसार विदेशमा रहेका नेपालीले नेपालबारे विदेशमै बसेर पनि निरन्तर छलफल र बहस गर्दै आएका छन्। अब उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने वातावरण निर्माण गर्न आवश्यक छ। उनले सम्मेलनलाई एक दिनमै देशको स्वास्थ्य प्रणाली परिवर्तन गर्ने कार्यक्रमका रूपमा नभई आवश्यक बहस सुरु गर्ने र सरकारलाई नीतिगत पहलका लागि प्रेरित गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चिकित्सक, नर्स, अनुसन्धानकर्ता, स्वास्थ्यसँग सम्बन्धित अन्य पेसाकर्मी तथा गैरस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई सम्मेलनमा सहभागी हुन आयोजकले आह्वान गरेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार