सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा प्ले अफ पुग्ने पहिलो टोली बनेको छ । कर्णाली याक्सलाई पराजित गरेसँगै लुम्बिनी पुगेको छ। आज दोस्रो खेलमा कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगेको हो । बिहीबार भएको २ खेलबाट एनपीएलको प्लेअफ पुग्ने लुम्बिनी पहिलो टोली बन्यो । प्लेअफ दौडबाट बाहिरिने पोखरा एभेन्जर्स पहिलो टोली बन्यो । चार खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको लुम्बिनी ९ अंकमा तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पुगेको हो । लुम्बिनी काठमाडौसँग मात्र पराजित भएको छ भने चितवन राइनोजसँगको खेल वर्षाले प्रभावित हुँदा अंक बाँडेको थियो । लिग चरणको अन्तिम खेलमा लुम्बिनीले शनिबार विराटनगर किंग्ससँग खेल्नेछ। सो दिन एक खेल मात्र रहेको छ। लुम्बिनी सो खेलमा जित निकाल्दै तालिकाको शीर्ष २ मा रहेर सिधै पहिलो क्वालिफायर खेल्न चाहान्छ । लुम्बिनीसँगको हारले कर्णालीको प्ले अफ यात्रा कठिन बनेको छ। सुरुवाती २ खेलमा जित निकालेको कर्णालीले पछिल्लो चार खेलमा लगातार हार व्यहोरेको छ । लिग चरणको तेस्रो खेलमा काठमाडौ गोर्खाजसँग ४ विकेटले पराजित भएपनि कर्णाली खेलमा फर्कन सकेको छैन । २ खेलमा जित र ४ खेलमा हार भोगेको कर्णाली ४ अंकमा तालिकाको सातौँ स्थानमा छ। कर्णालीले लिग चरणको अन्तिम दिनको पहिलो खेलमा चितवन राइनोजसँग खेल्नेछ । कर्णालीले अब चितवनविरुद्ध जित निकालेर मात्र पुग्नेछैन। प्लेअफ यात्रा तय गर्न अन्य खेलको नतिजा समेत आफु अनुकुल आउनुपर्नेछ । कर्णालीले दिएको १ सय ६ रनको झिनो लक्ष्य लुम्बनीले १६.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । कर्णालीले दिएको झिनो लक्ष्य भेट्टाउन लुम्बिनीले आजको खेलमा निकै मेहनत गर्नुपर्यो । लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र १ छक्का हाने । निरोसन डिकवेल्लाले १६ रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेन्न । आशिफ शेख र कप्तान रोहित पौडेल समान १ रन बनाउँदै पेभेलियन फर्के । सन्दीप जोराले चार रन बनाए । कर्णालीका लागि मार्क वाटले ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । पवन सर्राफ र हुसैन तलातले समान एक विकेट आफ्नो नाममा गरे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली ४ बल अगावै १ सय ५ रनमा अलआउट भयो । लुम्बिनीका बलरहरु हाबी भएको इनिङ्समा कर्णालीका शीर्षक्रमका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । कर्णालीका लागि कुनै पनि खेलाडीले उत्कृष्ट साझेदारी गर्न नसक्नु ब्याटरहरुले अनावश्यक सट खेल्न खोज्दा झिनो रनको योगफल खडा गर्यो । कर्णालीले ४.३ ओभरमा १५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। ओपनर दिपेन्द्र रावत शुन्यमा बोल्ड हुँदा अरिफुल इस्लाम र दिपक डुम्रे समान ४ रन बनाउँदा आउट भए। कप्तान डेविड मिलर ५ रनमा नै क्याच आउट भए । मध्यक्रमका ब्याटरले केही समय क्रिजमा टिक्दै इनिङ्स सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् । सोमपाल कामी २८ र हुसैन तलातले २४ रन बनाए। पवन सर्राफले १२ रन बनाउँदा मार्क वाट २ रनमा नै पेभेलियन फर्के । प्लेअफ पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा रहेको कर्णालीले लुम्बिनीसामु उच्च रनको स्कोर खडा गर्न सकेन । लुम्बिनीका लागि अविशेष गौतम, किशोर महतो, डार्सी सर्ट र रोहित पौडेलले समान २ विकेट लिए । रुवेन ट्रम्पलम्यान र शेर मल्लले समान एक विकेट आफ्नो नाममा गरे । आजै भएको पहिलो खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएपछि पोखरा एभेन्जर्स एनपीएलको प्लेअफ दौडबाट बाहिरिएको छ । जारी एनपीएलमा प्लेअफ दौडबाट बाहिरिने पोखरा पहिलो टोली हो । लिग चरणमा एक खेलमा मात्र जित निकालेको पोखरा ६ खेलमा पराजित भएपछि लिग चरणबाटै बाहिरिएको हो । लिग चरणको अन्तिम खेलमा पोखराले काठमाडौँ गोर्खाजविरुद्ध खेल्न बाँकी छ । पोखराले सो खेलमा जित निकालेपनि प्लेअफमा पुग्न पर्याप्त हुनेछैन । एनपीएलको तीन सिजनमा प्लेअफ पुग्न नसकेको पोखरा एक मात्र टोली हो । एनपीएलमा शुक्रबार २ खेल रहेको छ । दिनको पहिलो खेलमा काठमाडौँ गोखार्ज र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज खेल्ने तालिका छ ।