Tihar Banner
Tihar Banner

विराटनगरको जित, पोखरा प्ले अफ दौडबाट बाहिरियो

बिहीबार, कात्तिक २६, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार सम्पन्न खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई चार विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पोखरा एभेन्जर्सले १७.५ ओभरमै अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको विराटनगर किङ्सले भने १९.२ ओभरमा ६ विकेट गुमाएर एक सय ३६ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । जितसँगै विराटनगर किङ्स ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगरले ६ मध्ये तीन खेलमा जित र तीन खेलमा हार बेहोरेको छ ।  विराटनगरले अब लुम्बिनीसँग मात्र खेल्न बाँकी छ । पोखराको भने यो पाँचौं हार हो । ६ खेल खेलेको पोखरा दुई अंकसहित अन्तिम स्थानमा छ । यो हारसँगै पोखरा एभेन्जर्सको प्ले–अफ चरणमा पुग्ने सम्भावना पनि समाप्त भएको छ । पोखराले अब आफ्नो अन्तिम खेल काठमान्डु गोर्खाजसँग खेल्नेछ । विराटनगर किङ्सको जितमा बसिर अहमदले सर्वाधिक ३७ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ३९ बलमा दुई छक्का र दुई चौका हिर्काए । ओपनर ब्याट्सम्यान लोकश बमले पनि टोलीको खातामा ३३ रन थपे । उनले केवल २७ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काए । ओपनर इमरान शेख १० रनमा आउट भए । एन्जेलो म्याथ्यूजले आठ रन जोडे । सातौं नम्बरमा क्रिज समाल्न आएका सेहन जयसूर्याले १४ बलमा दुई चौकाको मद्दतले अविजित १७ रन बनाए । आठौं नम्बरमा क्रिज समाल्न आएका ईसुरु उडानाले पनि केवल १२ बलमा एक छक्का र चार चौकाको मद्दतले टोलीको खातामा अविजित २५ रन थपे । टोलीको जितमा जयसूर्या र उडानाको भूमिका महत्वपूर्ण रह्यो । यी दुई ब्याट्रले अप्ठ्यारो स्थितिबाट टोलीलाई जितसम्म डोर्‍याएका थिए । पोखरा एभेन्जर्सका बलर रमेश मेन्डिस र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । विपिन खत्री र धनन्जय लक्सनले पनि एक–एक विकेट हात पारे । त्यसअघि, पोखरा एभेन्जर्सका लागि युवराजसिंह सामराले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनले टोलीका लागि ८४ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका क्यानडाका २० वर्षीय बायाँहाते ओपनर ब्याट्सम्यान सामराले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काए । यसअघि, उनले जारी एनपीएलमा शतक पनि बनाएका थिए । उनी एनपीएलको तेस्रो संस्करणमा शतक बनाउने एकमात्र खेलाडी पनि हुन् । उनले कर्णाली याक्सविरुद्धको खेलमा केवल ४८ बलको सामना गरी ६ छक्का र १० चौकाको मद्दतले एक सय दुई रन बनाएका थिए । उनी जारी एनपीएलमा अर्धशतक बनाउने १५ औं खेलाडी हुन् । त्यसमध्ये दुई ब्याट्सम्यान काठमान्डु गोर्खाजका रासिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई–दुई अर्धशतक बनाएका छन् । विराटनगरविरुद्धको खेलमा सामरावाहेक पोखराका माथिल्लो क्रममा अन्य ब्याट्सम्यान चल्न सकेनन् । ओपनर अर्जुन कुमाल एक रनमै पेभेलियन फर्किए । कुशल भुर्तेलले त खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्ती पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् । सन्नी बीके १२ रनको व्यक्तिगत स्कोरमै पेभेलियन फर्किए । रमेश मेन्डिसले खाता खोल्न सकेनन् भने धनन्जय लक्सनले टोलीको खातामा १५ बलमा एक छक्का र एक चौकाको मद्दतले २२ रन थपे । पोखराका ब्याट्सम्यानका लागि विराटनगर किङ्सका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने सबैभन्दा घातक बने । उनी एक्लैले ह्याट्रिकसहित ६ विकेट लिए । टोलीको कप्तानसमेत रहेका सन्दीप जारी एनपीएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर पनि बने । सन्दीपले १५ औं ओभरको खेलमा ह्याट्रिक विकेट लिएका हुन् । उनले १५ औं ओभरको तेस्रो बलमा पोखराका ओपनर ब्याट्सम्यान युवराजसिंह सामरालाई ईसुरु उडानामार्फत क्याच गराए । त्यसपछि, सन्दीपले १५ औं ओभरको चौथो बलमा चामिका करुणारत्नेलाई एलबीडब्लूको धरापमा पारे । सोही ओभरको पाँचौं बलमा उनले किरण ठगुन्नालाई पनि एलबीडब्लूकै धरापमा पारे । यसका अतिरिक्त, अर्जुन घर्ती, सन्नी बीके र रमेश मेन्डिसको विकेट पनि सन्दीपले नै लिएका थिए । उनी जारी एनपीएलको एउटै खेलमा पाँच वा त्योभन्दा बढी विकेट लिने पनि पहिलो बलर हुन् ।
सन्दीपले चार ओभरमा केवल २७ रन खर्चिए । सन्दीपकका अतिरिक्त, एन्जेलो म्याथ्यूज, चरिथ असालंका र रुपेशकुमार सिंहले पनि एक–एक विकेट हात पारे ।

photo_3a216f70-1794467035.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार