सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी आज बिहान मकवानपुर जिल्लाको चिसापानीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका यात्रुहरुको दुःखद निधन भएको छ । दुर्घटनामा गाडीका चालकसहित सवार २० जनामध्ये पाँच जना घाइतकोे हेटौँडामा उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाउने केही व्यक्तिको पहिचान भइसकेको छ भने केही मृतकको पहिचान हुन बाँकी रहेको बताइएको छ । उक्त दुर्घटनामा सुन्दरपुर निवासी निर्सु रायका छोरा राकेश राय, नाति रोहन राय र भतिज शुभोध रायको समेत दुःखद निधन भएको छ । उनीहरू विगत पाँच–छ वर्षदेखि काठमाडौंको जडीबुटी क्षेत्रमा तरकारी व्यवसाय गर्दै आएका थिए । छठ पर्व मनाउन घर फर्किने क्रममा उनीहरूले गएराति काठमाडौंबाट ईभी गाडी भाडामा लिएर सर्लाहीका लागि यात्रा सुरु गरेका थिए । तर, घरपरिवारसँग छठ पर्व मनाउने खुसी बोकेर हिँडेका उनीहरूको यात्रा मकवानपुरको चिसापानीमा भएको दुर्घटनासँगै सदाका लागि टुंगिएको छ । आफ्ना परिवारका सदस्य गुमाउनुपर्दाको पीडा सुनाउँदै मृतकका पिता निर्सु रायले घटनाबारे जानकारी दिएका हुन् । यस दुःखद घटनाले सर्लाहीको सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।