सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको शव जिल्ला अस्पतालमा ल्याइसकिएको छ । डिएसपी माधवकुमार काफ्लेले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दुर्घटनामा १० जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जानकारी दिए । उनले भने, ‘अन्दाजी बिहान पौने ६ बजे भीमफेदी गाउँपालिकामा प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी दुर्घटना हुँदा करिब ५०० मिटर तल खसेको छ । अहिलेसम्म ६ जना घाइतेलाई हेटौँडा अस्पतालमा ल्याएर उपचार गराउने काम भइरहेको छ भने १० जनाको मृत्यु भइसकेको छ । जसमध्ये चार जनाको शव जिल्ला अस्पतालमा ल्याइसकेका छौँ ।’ दुर्घटनास्थल भिरालो र जंगल क्षेत्रमा रहेकाले शव निकाल्न कठिनाइ भइरहेको उनले बताए । सुरक्षाकर्मीले घटनास्थलबाट शव निकाल्ने र उद्धार गर्ने काम जारी राखेको उनको भनाइ छ । उनका अनुसार उद्धार कार्यमा नेपाल प्रहरीका २७ जना, सशस्त्र प्रहरीका १० जना र नेपाली सेनाका १० जना खटिएका छन् । त्यसबाहेक नेपाल प्रहरीको गणबाट थप १५ जना परिचालन गरिएको छ भने अन्य सुरक्षाकर्मीसमेत उद्धारमा जुटेका छन् । काफ्लेले घाइते र मृतकको सनाखत गर्ने काम भइरहेको पनि जानकारी दिए । दुर्घटनाको कारणबारे भने यकिन भइसकेको छैन । चालकको निद्रा नपुगेका कारण दुर्घटना भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् । उनले भने, ‘अहिले दुर्घटना यही कारणले भएको हो भन्ने कुरा भन्न सकिएको छैन । तर, ईभी गाडीका चालकले हिजो बेलुका गाडी चलाएर काठमाडौं गएको र आज बिहानै १–२ बजेतिर त्यहाँबाट सवारीसाधन चलाउनुले चालकको निद्रा नपुगेको हो कि भन्ने मेरो अनुमान छ । अहिले यही कारणले हो भन्ने कुरा अनुसन्धान गर्छौं ।’