सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । छठ पर्व मनाउन घर फर्किँदै गरेका नागरिकले सडक दुर्घटनामा ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन् । दुर्घटनापछि शोक सन्देश जारी गर्दै उनले एउटै बस्ती र टोलका नागरिकले अकालमै ज्यान गुमाउनुपर्दा समुदायमा अकल्पनीय पीडा थपिएको उल्लेख गरेका छन् । ‘एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ,’ लामिछानेले शोक सन्देशमा भनेका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । लामिछानेले घटनाप्रति दुःख व्यक्त गर्नुका साथै दुर्घटनाबाट प्रभावित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । ‘सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ उनले भनेका छन् । बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटनामा परेको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ६ जना यात्रु घाइते भएका छन् । दुर्घटनाले छठ पर्व मनाउन घर आइरहेका परिवारमा शोक थपिएको अवस्थामा लामिछानेले घाइतेको उपचार तथा पीडित परिवारको राहत व्यवस्थापनमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।