प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

भारत भ्रमण र द्विपक्षीय सहकार्यबारे छलफल
बिहीबार, कात्तिक १९, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, द्विपक्षीय सहकार्य र पूर्वाधारसम्बन्धी विषयमा छलफल भएको हो । भेटका क्रममा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण सफल बनाउन भारत सरकारले तयारी तीव्र पारेको जानकारी गराएका छन् । भ्रमणलाई उपलब्धिमूलक बनाउन भारतले आवश्यक तयारी गरिरहेको उनले बताएका हुन् । प्रधानमन्त्री शाहले नेपालमा हालै आएको विनाशकारी रसुवा(भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । विपद्पछि भारतले पहिलो सहयोगी मुलुकका रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेको विषयलाई उनले महत्त्वपूर्ण सहयोगका रूपमा उल्लेख गरे । उनले विपद्को समयमा भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेकोमा समेत धन्यवाद दिएका छन् । भेटवार्तामा नेपाल–भारतबीच ऊर्जा, जलस्रोत, व्यापार, पारवहन र उड्डयनका क्षेत्रमा भइरहेको सहकार्यबारे पनि छलफल भएको छ । विदेश सचिव मिस्रीले यी क्षेत्रसँग सम्बन्धित द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् । यसै क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्ने तयारीबारे पनि कुराकानी भएको छ । मिस्रीले प्रस्तावित रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढेको र बिहीबार नै रेलको परीक्षण गरिएको जानकारी गराएका हुन् । जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारीस्वरूप बिहीबार भारतबाट १७ डिब्बासहितको रेल धनुषाको कुर्थासम्म ल्याएर प्राविधिक परीक्षण गरिएको थियो । नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार रेलमार्गको क्षमता तथा सञ्चालनसम्बन्धी पक्ष परीक्षण गरिएको हो । नियमित सेवा सञ्चालनको मिति भने अझै निश्चित भइसकेको छैन ।  प्रधानमन्त्री शाहले भेटका क्रममा नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग सहकार्य विस्तार गर्ने सम्भावनाबारे समेत चासो राखेका छन् । खेलकुद पूर्वाधार र अन्य सम्भावित सहकार्यका क्षेत्रमा दुई देशबीच साझेदारी गर्न सकिने विषयमा उनको चासो रहेको थियो । भारतीय विदेश सचिव मिस्री बुधबार दुई दिने नेपाल भ्रमणमा आएका हुन् । प्रधानमन्त्रीसँगको भेटअघि उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत मन्त्री तथा उच्च सरकारी अधिकारीहरूसँग छलफल गरेका थिए । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय वार्तामा प्रधानमन्त्रीको आसन्न भ्रमण, विकास सहयोग, ऊर्जा, व्यापार तथा पारवहनका विषय समेटिएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार