सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई अदालतले दोषी ठहर गरेको छ । मंगलबार बसेको न्यायाधीशसहितको निर्णायक मण्डलले नरेशलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो । साथै, मृतकको शव लुकाएको र शवको अपमान गरेको अभियोगमा समेत उनलाई दोषी ठहर गरिएको छ । सन् २०२४ जुलाई २७ देखि सम्पर्कविहीन भएकी ममता काफ्लेको खोजीका क्रममा प्रहरीले उनका पति नरेशमाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा घरमा रगतका दाग, कपालका टुक्रा तथा अन्य प्रमाण फेला परेका थिए । अदालतमा बयान दिने क्रममा नरेशले ममताको मृत्यु भएको र उनको शवलाई आराले टुक्रा पारेर विभिन्न फोहोरका झोलामा राखी फालेको स्वीकार गरेका थिए । तर उनले ममताको हत्या आफूले नगरेको र उनको मृत्यु आफैँले विष सेवन गरेका कारण भएको दाबी गरेका थिए । अभियोजन पक्षले भने विभिन्न प्रमाण, निगरानी दृश्य, दूरभाष विवरण तथा वैज्ञानिक परीक्षणका आधारमा नरेशले नै ममताको हत्या गरेको जिकिर गरेको थियो । यस घटनामा सबैभन्दा दुःखद पक्ष के छ भने ममताको शव हालसम्म पनि फेला परेको छैन । नरेशलाई हत्याको अभियोगमा बीस वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ । अन्य दुई अभियोगमा समेत थप सजाय हुन सक्ने व्यवस्था छ । उनको सजाय निर्धारण आगामी मार्च १२ मा हुने तय भएको छ । दोषी ठहर भएपछि अदालतले उनको धरौटीसमेत रद्द गरेको छ । यस घटनाले नेपाल तथा विदेशमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ । लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका ममताका परिवारका लागि अदालतको यो निर्णय महत्वपूर्ण बनेको छ ।