Tihar Banner
Tihar Banner

रानीपोखरीमा भाइटीका लगाउनेको भीड

बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा भक्तजनको घुइँचो
बुधबार, कात्तिक २५, २०८३

काठमाडौ‌ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका तथा सयपत्री र मखमली फूलको माला लगाइदिएर भाइटीका मनाउने परम्परा छ । आफ्ना दिदीबहिनी नभएका तथा विभिन्न कारणले भाइटीका लगाउन नपाएकाहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउने परम्परा छ । वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला गरिएको छ । मन्दिरमा बिहानैदेखि टीका लगाउन आउने सर्वसाधारणको भीड लागेको छ । दिदीबहिनी नहुनेहरू रानीपोखरी पुगेर टीका तथा माला ग्रहण गर्दै भाइटीका पर्व मनाइरहेका छन् । भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र आपसी सम्बन्ध प्रगाढ बनाउने विशेष पर्वका रूपमा मनाइन्छ ।

आज  दिनभर बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका लागि भाइटीकाको अवसरमा आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू पूजा, दर्शन गरी टीका लगाउन पुग्ने गर्छन् । ऐतिहासिक मान्यताअनुसार राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरी निर्माण गराएका थिए। पोखरीको बीचमा सोही समयमा बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो । यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पूजा, दर्शन र टीका लगाउने परम्परा रहेको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार