बराहक्षेत्रमा चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा

बिहीबार, कात्तिक १९, २०८३

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा आयोजना हुने चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा भएको छ । बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन बजारको टिनटोलियामा रहेको पोखरीमा आगामी २४ गते (मंगलबार) आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक चतरा हाइकिङ समूहका संयोजक भीषण राईले जानकारी दिएका छन् । प्रतियोगिताको विषयमा आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । लोपोन्मुख सीम तित्रा चराको संरक्षणप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै विकास तथा प्रचारप्रसारमा पछाडि परेको मधुवन क्षेत्रको पर्यटन प्रवद्र्धन र पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक संस्थाका संयोजक राईले बताए । सो अवसरमा लोपोन्मुख सीम तित्रा चराको तस्बिर अङ्कित प्रतियोगितात्मक टी–शर्टसमेत सार्वजनिक गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागिताका लागि स्टोन स्किपरहरूलाई आह्वान गरिएको छ । यस प्रतियोगिताले स्थानीय पर्यटन प्रवद्र्धनका साथै जैविक विविधता तथा लोपोन्मुख चराको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको आयोजक संस्थाका राईले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार