कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

बिहीबार, कात्तिक १९, २०८३

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनका वरिष्ठ अधिवक्ता जगतबहादुर कार्कीले कानुन व्यवसायीको पेसागत दक्षता अभिवृद्धिका लागि बहस कला, इजलासमा प्रस्तुत हुने शैली र ल फर्म व्यवस्थापनसम्बन्धी तालिम आवश्यक रहेको बताएका छन् ।  नेपाल बार एशोसिएशनले नेपालीहरूको महान् चाडपर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा आयोजना गरेको परिचय तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता कार्कीले कानुन व्यवसायीहरूमा व्यावहारिक दक्षताको अभाव देखिएको बताए ।  उनले विशेषगरी अदालतमा बहस पैरवी गर्दा अपनाउनुपर्ने कला र इजलासका प्रश्नको जवाफ दिने क्षमतामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।  ‘पेसागत दक्षता अभिवृद्धि तथा कानुन व्यवसायी सरोकार समिति, यो समितिको नामै आफैँमा पवित्र छ। हामीले पेसागत दक्षता अभिवृद्धि गर्न सकिराखेका पनि छैनौँ, व्यवहारमा पुग्न सकिराखेका पनि छैनौँ । यो बहस कला हामीलाई अति आवश्यक रहेछ,’ उनले भने ।  बहस गर्ने शैलीले मुद्दाको परिणाममा समेत प्रभाव पार्न सक्ने भन्दै उनले कानुन व्यवसायीले आफ्नो पक्षको प्रतिनिधित्व कसरी गरिरहेका छन् भन्ने विषयमा तालिम आवश्यक रहेको बताए । उनका अनुसार कतिपय अवस्थामा इजलासले सोधेका प्रश्नको जवाफ दिनसमेत कानुन व्यवसायीहरूलाई कठिनाइ हुने गरेको छ । त्यसैगरी इजलासमा प्रवेश गर्ने र बाहिरिने तरिका, सहकर्मी तथा अर्को पक्षका कानुन व्यवसायीलाई सम्बोधन गर्ने शैलीलगायत विषयमा पनि स्पष्ट व्यावहारिक ज्ञान आवश्यक रहेको उनले बताए । ‘बेन्चमा कहिलेकाहीँ बेन्चले सोधेका प्रश्नको जवाफ दिन पनि हामी कानुन व्यवसायी थाहा पाइराखेका हुँदैनौँ, के जवाफ दिने थाहा हुँदैन। बेन्चमा कसरी प्रवेश गर्ने, निस्किँदा कसरी गर्ने, सँगैको साथीलाई कसरी सम्बोधन गर्ने, अर्को पक्षको कानुन व्यवसायीले बोलेका कुरालाई कसरी सम्बोधन गर्ने? यो अति आवश्यक भएको छ,’ उनले भने ।  कार्कीले अनुभवी वरिष्ठ अधिवक्ताहरूको अनुभव र ज्ञान नयाँ पुस्ताका कानुन व्यवसायीसम्म पुर्‍याउन बृहत् प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । लामो समयदेखि बहस पैरवी गर्दै आएका अग्रज कानुन व्यवसायीलाई सहभागी गराएर नवप्रवेशी तथा अनुभवी दुवै पुस्ताका कानुन व्यवसायीलाई प्रशिक्षण दिनुपर्ने उनको सुझाव छ । उनले कानुन व्यवसायीका लागि ल फर्म व्यवस्थापन पनि महत्त्वपूर्ण विषय भएको उल्लेख गरे। सेवाग्राहीले कानुन व्यवसायीको कार्यालयमा आउँदा कस्तो व्यवहार र सेवा पाउँछन् भन्ने कुराले उनीहरूको विश्वास र सन्तुष्टिमा प्रभाव पार्ने उनको भनाइ छ । ‘हाम्रो ल फर्ममा आउने सेवाग्राहीले हाम्रो ल फर्मलाई कसरी हेर्दै छन्? त्यो असाध्यै आवश्यक रहेछ । ल फर्मको व्यवस्थापन ठूलो चाहिँदैन, राम्रो चाहिँदैन, तर सेवाग्राही आउँदा कसरी व्यवहार गर्ने, उहाँहरूलाई कुन ठाउँमा राख्ने भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भने । मुद्दामा सबै पक्ष सफल नहुने र कतिपय सेवाग्राही पीडा बोकेर कानुन व्यवसायीकहाँ आउने भएकाले उनीहरूसँग गर्ने व्यवहार, समस्या सुन्ने शैली र कार्यालयको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनले बताए । सेवाग्राहीलाई उचित व्यवहार गर्दै उनीहरूको विश्वास कायम राख्ने सीप पनि कानुन व्यवसायीको पेसागत दक्षताकै हिस्सा भएको उनको भनाइ छ । यसैगरी, कार्कीले कानुन व्यवसायीलाई सामाजिक सुरक्षा कोष (एसएसएफ) सम्बन्धी व्यवस्थाबारे पर्याप्त जानकारी गराउन नसकिएकोप्रति ध्यानाकर्षण गराए । नेपाल बार एशोसिएशनले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरे पनि यसको महत्त्व र उपादेयताबारे कानुन व्यवसायीलाई बुझाउन अझै बाँकी रहेको उनले बताए । ‘हामीले नेपाल बार एशोसिएशनले सामाजिक सुरक्षा कोषसँग सम्झौता पनि गर्‍यौँ। गण्डकी प्रदेशमा गयौँ, कोशी प्रदेशमा पनि गयौँ। प्रदेशमा जाँदै साथीहरूलाई यसबारे बुझाउने प्रयास गर्‍यौँ। तर अहिलेसम्म पनि थोरै, एकदमै बुझाउनै सकेनौँ। यसलाई बुझिदिनुहोला, बुझ्ने प्रयास गर्नुस्,’ उनले आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार