सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलिदेखि क्रिकेटको घरेलु महासंग्राम सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालका चिर परिचिर आठ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् । एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन् । अध्यक्ष चन्दले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन सञ्चारमाध्यमसहित सबै सरोकारवालाको सक्रिय तथा सकारात्मक भूमिका अपेक्षा गरेको बताए । उनले भने, ‘एनपीएललाई सफल पार्न सबैको सकारात्मक भूमिका र सक्रिय सहयोगको अपेक्षा गरेको छु । प्रतियोगितालाई सफल बनाउन सञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोग आवश्यक छ ।’ उनले एनपीएल सञ्चालनका लागि गठित कमिटी अधिकारसम्पन्न रहेको उल्लेख गर्दै उक्त कमिटीले गरेका निर्णय क्यानको बोर्डमा पेस भएपछि छलफल हुने बताए । एनपीएलसम्बन्धी सबै गतिविधिको जानकारी तत्काल बोर्डका सबै सदस्यलाई नहुने स्पष्ट पार्दै उनले आवश्यक निर्णय प्रक्रियाअनुसार बोर्ड तथा साधारणसभाबाट अनुमोदन गरिने जानकारी दिए । एनपीएलको लेखापरीक्षणबारे उठेका प्रश्नको जवाफ दिँदै चन्दले कानुनी व्यवस्थाका कारण लिगको लेखापरीक्षण क्यानकै माध्यमबाट गर्नुपर्ने अवस्था आएको बताए । लेखापरीक्षण प्रतिवेदनमा कार्यकारी अध्यक्ष, सचिव र कोषाध्यक्षको हस्ताक्षर आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रतिवेदन बोर्डबाट पारित गराएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाउनुपर्ने प्रक्रिया रहेको जानकारी दिए । उनले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा उल्लेख्य सुधार भएको दाबी गर्दै आगामी संस्करणमा पनि प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन एनपीएल कमिटीलाई आवश्यक अधिकार दिइएको उनको भनाइ थियो । यसैगरी, क्यानका सचिव पारस खड्काले एनपीएलको तेस्रो संस्करणका लागि करिब ९५ देखि ९९ प्रतिशत तयारी पूरा भएको जानकारी दिए ।
पारदर्शितामाथि उठेका प्रश्नप्रति क्यान सकारात्मक : सचिव खड्का क्यानका सचिव पारस खड्काले एनपीएल सञ्चालनको पारदर्शिता र निर्णय प्रक्रियामाथि उठेका प्रश्न तथा आलोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन् । प्रतियोगिता सञ्चालनका क्रममा कुनै कमजोरी देखिएको भए त्यसलाई सच्याउँदै अघि बढ्न क्यान तयार रहेको उनको भनाइ छ । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले एनपीएल सञ्चालनसँग सम्बन्धित कामकारबाही, निर्णय प्रक्रिया तथा व्यवस्थापकीय विषयमा सम्बन्धित सरकारी निकायलाई आवश्यक विवरण र जवाफ उपलब्ध गराइसकिएको जानकारी दिए । उनले प्रतियोगितालाई व्यवस्थित, प्रभावकारी र पारदर्शी रूपमा सञ्चालन गर्न छुट्टै गभर्निङ काउन्सिल गठन गरी कार्यविधिसमेत तयार गरिएको बताए । प्रतियोगितासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू क्यानको केन्द्रीय कार्यसमिति र गभर्निङ काउन्सिलमा छलफल गरेर लिने गरिएको उनको भनाइ छ । खड्काले एनपीएल कुनै व्यक्ति विशेषको लोकप्रियता बढाउन वा कसैलाई कमजोर देखाउन आयोजना गरिएको प्रतियोगिता नभएको स्पष्ट पारे । नेपाली क्रिकेटको समग्र विकास, व्यावसायिक विस्तार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु नै प्रतियोगिताको प्रमुख उद्देश्य रहेको उनले बताए । एनपीएल सञ्चालनको प्रक्रियागत पारदर्शितामाथि उठेका प्रश्नका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय तथा सरकारसमक्ष आवश्यक कागजात र विवरण पेस गरिसकिएको उनको दाबी छ । सम्बन्धित निकायबाट प्राप्त पत्रहरूको जवाफसमेत दिइसकिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्यान संस्थागत जवाफदेहिता कायम गर्न प्रतिबद्ध रहेको बताए ।क्यानको वर्तमान नेतृत्वले विगत तीन वर्षदेखि प्राप्त जिम्मेवारी पूरा गर्न निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै खड्काले सकारात्मक उद्देश्य र सही नियतका साथ काम गर्दासमेत कतिपय अवस्थामा कमजोरी हुन सक्ने स्वीकार गरे । त्यस्ता कमजोरीलाई ढाकछोप गर्नुको सट्टा पहिचान गरी सुधार गर्दै लैजानुपर्नेमा उनले जोड दिए । प्रतियोगिताको व्यवस्थापन, निर्णय प्रक्रिया र संस्थागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदै छ ।