सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेवार समुदायका ४० थरलाई दलितको सूचीमा राखिएकोप्रति नेवार समुदायका अगुवाहरुले आन्दोलन सुरु गरेका छन् । सोमबार निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने तयारी समुदायको छ । शनिवार ऐतिहासिक असन डबलीमा भेला भएका नेवार समुदायका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले हचुवाको भरमा गरिएको उक्त सूचीकरण तत्काल सच्याउन माग गरेका थिए । नेवार अगुवाहरुसँगै उभिएर नेपाली कांग्रेस काठमाडौँ महानगरका सभापति सुशन वैद्यले समुदायका विज्ञ, गुठी र सरोकारवालासँग कुनै परामर्श नगरी तथा समाजशास्त्रीय एवं वैज्ञानिक अध्ययनबिनै हचुवाको भरमा दलित सूचीमा राख्नु अपरिपक्व र अन्यायपूर्ण भएको बताए । राष्ट्रिय दलित आयोग र सरकारले ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको समुदायभित्र बिना आधार विभाजन र वर्गीकरण थोपर्न खोजेको आरोप पनि उनले लगाए । सभापति वैद्यले नेवार समुदायभित्रका ४० वटा थरलाई दलित सूचीमा समावेश गर्ने अवैज्ञानिक निर्णय नेवार समुदायलाइ स्विकार्य नहुने र यो निर्णय तत्काल फिर्ता नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने,‘दलित आयोग थोरै लचक भएर प्रस्तुत भएको छ । आयोगले सरकारलाई निर्णय फिर्ता लिन समन्वय गर्नुपर्छ । यदि निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्छौं ।’ नेवार समुदायभित्रको विविधता, परम्परागत पेसा र सांस्कृतिक संरचनालाई नबुझी राज्यले एकतर्फी रूपमा सूचीकरण गर्दा सामाजिक सद्भाव र समुदायको आत्मसम्मानमा ठेस पुग्ने भन्दै प्रदर्शनकारीहरूले तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन् । कुनै पनि समुदायको पहिचान र वर्गीकरणसम्बन्धी संवेदनशील नीतिगत निर्णय गर्नुअघि गहिरो अध्ययन र सम्बन्धित समुदायको सहमति अपरिहार्य हुने उनीहरुको भनाइ थियो । प्रदर्शनमा सहभागी नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.अमिता प्रधान शाक्यले नेवारहरूको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको बताइन् । उनले नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको बताउँदै जीवित देवीको थर पनि दलितमा परेको उल्लेख गरिन् । देशभरका नेवार समुदायमाथि प्रहार गरिएको भन्दै उनले कुनै पनि निर्णय गर्दा सम्बन्धित पक्ष र समुदायसँग समन्वय गरेर गर्नु पर्नेमा सरकारले नेवार समुदायलाइ हेपेर निर्णय गरेको दावी गरिन् । केन्द्रिय सदस्य डा.प्रधानले सरकारको यो निर्णयले जातीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनी पनि दिइन् । कांग्रेसकै अर्का केन्द्रीय सदस्य सपना राजभण्डारी जोशीले सरकारले राजपत्रमा निकालिएको कुरा विनाअध्ययन र अनुसन्धानमा ल्याइएको बताइन्। समुदायसँग कुनै परामर्श नगरिएको र उनीहरुको भावना माथी खेलवाड गरिएको दावी गरिन् । सरकारको अपरिपक्व र हेपाहा निर्णयका विरुद्धमा आन्दोलनमा उत्रिन पनि उनले सबैलाइ आह्वान गरिन् । राज्यले नागरिकको आत्मसम्मानमा ठोस पु¥याएको उनको भनाई छ । उनीहरूले ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्, आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन, प्रमाण हेर्ने, न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन, विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि, गणतन्त्रको पहिलो दलित प्रधानमन्त्री भएकोमा माननीयज्युलाई बधाई, सरकारको स्वेच्छाचारी निर्णय बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले दलित आयोग खारेज गर्न माग समेत गरेका छन् । नेवार अगुवाहरुको सक्रियतामा भएको आन्दोलनको समन्वय भने नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले गरेको हो ।