Dashain Banner
Dashain Banner

वीरगञ्जमा १५१ मिटर लामो चुनरी यात्रा, गहवामाईमा दसैंको रौनक

आइतबार, असोज २५, २०८३

वीरगञ्ज । हिन्दुहरुको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जमा प्रसिद्ध शक्तिपीठ गहवामाईको सम्मानमा १५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ । महिला भक्तजनहरूको सहभागितामा निकालिएको उक्त चुनरी यात्राले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक वातावरणलाई भक्तिमय बनाएको छ । दसैँको पहिलो दिन आइतबार बिहानैदेखि वीरगञ्जस्थित गहवामाई मन्दिरमा दर्शनार्थी तथा श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको थियो। गहवामाईप्रति आस्था र श्रद्धा प्रकट गर्दै महिला भक्तजनहरूले लामो चुनरीसहित यात्रा निकालेका हुन् । धार्मिक उत्साहका साथ निकालिएको चुनरी यात्राले दसैँको रौनक थप बढाएको छ । चुनरी यात्रामा सहभागी महिला भक्तजनहरूले माता गहवामाईको जयजयकार गर्दै धार्मिक आस्था व्यक्त गरेका थिए । हिन्दु धर्ममा चुनरीलाई देवीप्रतिको श्रद्धा, समर्पण र भक्तिको प्रतीकका रूपमा लिने गरिन्छ। नवरात्रको पहिलो दिन निकालिएको यस यात्राले धार्मिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षणमा समेत योगदान पु¥याएको छ । घटस्थापनाका अवसरमा गहवामाई मन्दिरमा बिहानैदेखि विशेष पूजाअर्चना गरिएको थियो । श्रद्धालुहरूले मन्दिरमा पुगेर माता भगवतीको दर्शन गर्नुका साथै सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गरेका थिए । दसैँको पहिलो दिन घरघरमा जमरा राख्ने, कलश स्थापना गर्ने र दुर्गा भवानीको पूजा आराधना गर्ने परम्पराअनुसार विभिन्न स्थानमा धार्मिक गतिविधि सञ्चालन भएका छन् । वीरगञ्ज मधेस प्रदेशको प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्रमध्ये एक भएकाले दसैँका अवसरमा यहाँका मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनहरूको चहलपहल बढ्ने गरेको छ । गहवामाई मन्दिरमा वीरगञ्जसहित आसपासका क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू दर्शनका लागि आउने गरेका छन् । दसैँको सुरुवातसँगै वीरगञ्जमा निकालिएको १५१ मिटर लामो चुनरी यात्राले धार्मिक आस्था, महिला सहभागिता र सांस्कृतिक एकताको सन्देश दिएको छ।  नवरात्रभर गहवामाई मन्दिरमा विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान जारी रहने भएकाले आगामी दिनमा पनि मन्दिरमा भक्तजनहरूको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार