अयोध्या–जनकपुरधाम रेल सेवाको उद्घाटन गर्दै मोदी–बालेन

जनकपुरधाममा उत्साह
आइतबार, मंसिर ६, २०८३

जनकपुर । भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म रेल सेवा सुरु हुन लागेको छ । भोलि ७ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा अयोध्यादेखि जनकपुरधामसम्म चल्ने रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । उक्त रेल सेवा सुचारु हुने भएपछि जनकपुरधामका स्थानीयसहित व्यवसायीहरु उत्साहित भएका छन् ।  दुबै देशबीच रहेको पौराणिक सम्बन्ध थप प्रगाढ हुने स्थानीयवासीहरुको भनाई छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ का स्थानीय रमेश कुमार झा भन्छन्,‘अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुने कुरा सुनेरै खुसी लागेको छ । झन गुड्न थालेपछि अझ खुसी लाग्नेछ ।’ उनका अनुसार अब यस क्षेत्रका स्थानीयलाई अयोध्या दर्शन गर्न जान सुविधा हुनेछ । उताबाट जनकपुरधाम दर्शन गर्न आउनेहरुका लागि सरकारले बढि भन्दा बढि सुविधा उपलब्ध गराउनु पर्ने झाको भनाई छ । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का लम्बु महाराजी भन्छन्, ‘धार्मिक दृष्टिकोणले जनकपुरधाम अयोध्या रेल सुचारु हुनु अत्यन्तै खुसीको कुरा हो । पहिला अयोध्या पुग्न कयौं पटक बस र ट्रेन फेर्नुपर्ने बाध्यता थियो । अब सोझै अयोध्यासम्म रेल चल्ने भएपछि दशर्नाथीहरुलाइ सुविधा हुनेछ ।’ त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ का विकास साह भन्छन्, ‘अयोध्या जनकपुरधाम रेल सेवा सुचारु भएपछि सबै भन्दा बढी फाइदा जनकपुरधामको व्यसायीहरुलाई हुनेछ । अयोध्याबाट मात्र नभई अयोध्या जान चाहने नेपालीहरु पनि जनकपुरधाममा आउने क्रम अब बढ्नेछ ।’ उनका अनुसार भारतबाट दर्शन गर्न आउनेहरुलाई बढि भन्दा बढि यस स्थानमा रोकेर राख्न सके जनकपुरधामको व्यवसाय झन बढ्ने छ । जनकपुरधाम र वरिपरिका घुम्ने र दर्शन गर्ने स्थलहरुको प्रचारप्रसार गर्नु पर्ने साहको भनाई छ । होटल एशोसिएन नेपाल, मधेश प्रदेशका अध्यक्ष विजय झुनझुनवाला भन्छन्, ‘अयोध्या जनकपुरधाम रेल सेवा सुरु हुनुले जनकपुरधामका होटल व्यवसायीहरुको लामो समयदेखिको सपना साकार भएको छ ।’ उनले जनकपुरधामवासीहरुका लागि यो एउटा आर्शिवाद प्राप्त गरेजस्तै भएको बताए । उनका अनुसार पर्यटन क्षेत्रमा ठूलो अवसरको रुपमा अयोध्या जनकपुरधाम रेल सेवा सावित हुनेछ । उनले अयोध्याबाट दर्शन गर्न आउने यात्रुहरुको सुविधाका लागि जनकपुरधामसहित जिल्लाभरिका होटलहरु तयार अवस्थामा रहेको जानकारी दिए । साथै उनले अयोध्याबाट आउने यात्रुहरुका लागि विशेष छुटको व्यवस्था पनि गर्ने बताए । यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार यस रेल सेवा सुचारु भएपछि जनकपुरधाम मात्र नभइ सम्पूर्ण नेपालकै पर्यटन क्षेत्रमा विकासको नयाँ आयाम थपिने छ । उनका अनुसार भारतबाट आउने यात्रुहरु जनकपुरधाम मात्र नभई मधेश प्रदेशका पर्यटकिय स्थलदेखि काठमान्डौसम्म पुगेर दर्शन गर्न अब सुविधा हुनेछ । उनका अनुसार भारतबाट आउने यात्रुहरुका लागि जनकपुरधाममा बस्ने, खानेदेखि घुम्नेसम्मको सुविधा मिलाउने व्यवस्था गरिएको छ । यात्रुहरुको सहजतालाई मध्येनजर गर्दै सरसफाईमा पनि उपमहानगरपालिकासंग समन्वय गरिएको छ । त्यस्तै उनले यात्रुहरुको स्वागतका निम्ति रेल्वे स्टेशनमै झाँकी र लोक नृत्यहरु प्रस्तुत गरिने जानकारी दिए । उनले पहिलो पटक आउने यात्रुहरुका निम्ति निःशूल्क भोजनको व्यवस्थापनि गर्न लागिएको बताए । त्यस्तै, नेपाल रेल्वेका महाप्रवन्धक परिवेश पराजुलीका अनुसार जनकपुरधाम अयोध्या रेल व्यवसायीक रुपमा अर्को हप्तादेखि मात्र सञ्चालनमा आउेनछ । उनले पहिलो पटक ८ गते आउने रेलमा भारतकै यात्रुहरु हुने र यताबाट सोही दिननै भारत फर्किने छ । अर्को हप्तादेखि मात्र सर्वसाधारणले टिकट बुक गरेर यात्रा गर्न सक्नेछन । उनले टिकटको शूल्क निर्धारण एक दुई दिन भित्रै हुने र जनकपुरधामस्थित रेल्वे स्टेशनबाटै टिकट खरीद गर्न सकिने जानकारी दिए । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणका लागि आइतबार भारत पुगेका छन् । त्यहाँ दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा अयोध्या जनकपुरधाम रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अयोध्यादेखि जनकपुरधामसम्म रेल सुचारु हुने भएपछि करीब एक महिनादेखि तयारी सुरु भइसकेको थियो । विभिन्न चरणमा भारतीय रेल्वे विभागका पदाधिकारीहरु जनकपुरधाम आएर निरीक्षण गर्नुका साथै नेपालतर्फका पदाधिकारीहरुसंग बैठक बसेर छलफल गरेका थिए । यसै बीचमा भारतबाट ट्रयाक परीक्षण गर्नका निम्ति १७ वटा बोगीभएको ट्रेन पनि आएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार