सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु कूटनीति, अस्ट्रेलियाको थप सहयोग, भोटेकोशी बाढीपछिको पुनःस्थापना, राहदानी सेवा सुधार तथा विभिन्न मुलुकसँगको द्विपक्षीय सम्बन्धलगायत १५ विषय सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागितादेखि मन्त्रालयले सञ्चालनमा ल्याएका नयाँ सेवासम्मका विषयमा जानकारी दिएका हुन् । उनका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियाले थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । अस्ट्रेलियाले यसअघि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग गरिसकेको थियो । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच अक्टोबर ८ मा मेलबर्नमा भएको भेटवार्तामा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, श्रम आप्रवासन, सिधा हवाई सम्पर्क र जलवायु परिवर्तनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा उठाउन जलवायु कूटनीति शाखा स्थापना गरेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा नेपालले जलवायु न्याय, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासमा जोड दिएको थियो । आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तालियामा आयोजना हुने कोप–३१ मा नेपालको उच्चस्तरीय सहभागिताको तयारीसमेत भइरहेको प्रवक्ता क्षेत्रीले बताए । सगरमाथा संवादको दोस्रो संस्करणको तयारी पनि अघि बढाइएको छ । भोटेकोशी बाढीपछि सरकारले अत्यावश्यक खोज तथा उद्धार गर्नुपर्ने स्थानबाहेक अन्य क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ । असोज १९ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले सम्बन्धित निकायलाई यसअनुसार काम अघि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श बैठकमा रुसी सेनामा भर्ती भएका नेपालीको समस्या समाधानबारे छलफल भएको छ। त्यस्तै, नेपाल र ओमानबीच आर्थिक, श्रम, कन्सुलर, सांस्कृतिक तथा शैक्षिक सम्बन्ध विस्तारबारे छलफल भएको मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच तातोपानी–झाङ्मु तथा लिजी–कोरालालगायतका नाका खोल्न आवश्यक समन्वय भइरहेको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिए । राहदानी सेवातर्फ अब नेपाली नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था लागू भएको छ । नयाँ राहदानी प्रणाली सुरु भएयता दुई लाखभन्दा बढी राहदानी जारी भइसकेका छन् । चोरी भएका तथा हराएका राहदानीको विवरण व्यवस्थित गर्न नयाँ कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी, नेपाल ई–अटेस्टेसन सिस्टममार्फत हालसम्म १८ हजार ७४९ जनाले सेवा लिएका छन् भने ४५ हजार ९२० वटा कागजात प्रमाणीकरण भएका छन्। विदेशमा अलपत्र परेका, उद्धार आवश्यक भएका तथा बीमा र क्षतिपूर्तिसम्बन्धी गुनासो दर्ता गर्न सञ्चालन गरिएको ‘मोफा मित्र’ एप एक लाखभन्दा बढी प्रयोगकर्ताले प्रयोग गरिरहेको मन्त्रालयले जनाएको छ । नेपालका ऐतिहासिक सम्पदाको संरक्षणतर्फ जर्मनीमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८०० भन्दा बढी लिखित दस्तावेज नेपाललाई हस्तान्तरण गरिएको छ। त्यस्तै, नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले शुभकामना सन्देश आदानप्रदान गरेका छन् । मन्त्रालयले भारतसँग व्यापार, पारवहन, जलस्रोत तथा हवाई मार्गसम्बन्धी छलफल अघि बढिरहेको, आईपीयूको १५३औँ सभामा नेपालले भोटेकोशी बाढी र जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव पेस गरेको तथा सार्कको १६औँ महासचिवमा भुटानका प्रस्तावित उम्मेदवारलाई सहमति दिएको पनि जनाएको छ । यसबाहेक मन्त्रालयले कूटनीतिक सूचना तथा गतिविधि सार्वजनिक गर्न इन्स्टाग्राम ह्यान्डल सञ्चालनमा ल्याएको छ ।