प्रधानमन्त्री शाहको भारत भ्रमण

नेपाल–भारत संयुक्त विज्ञप्तिमा समेटिए २४ बुँदा

सोमबार, मंसिर ७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुई दिने राजकीय भारतका औपचारिक कार्यक्रम सम्पन्न भए लगत्तै नेपाल र भारतले २४ बुँदै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । संयुक्त प्रेस विज्ञप्तिमा नेपाल र भारतबीच हस्ताक्षर भएका ८ वटा समझदारीपत्र, शिलान्यास तथा उद्घाटन गरिएका पाँच वटा प्रोजेक्ट, आर्थिक सहायता घोषणा लगायतका विषयहरू समेटिएको छ । प्रधानमन्त्री बालेन भारतको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आइतबार नयाँ दिल्ली आइपुगेका थिए । आइतबार साँझ प्रधानमन्त्री बालेनसँग होटल ताज महलमा भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री बालेनलाई सोमबार बिहान राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो । राष्ट्रपति भवनमा उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । त्यसपछि उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा चढाएका थिए ।  सोमबार नै हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वन अन वन’ भेटवार्ता भएको थियो । त्यसपछि दुवै प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका थिए । “दुई नेताहरूबीचको छलफलमा द्विपक्षीय सहयोगका प्रमुख क्षेत्रहरू, पारस्परिक हितका क्षेत्रीय विषयहरू तथा विश्वव्यापी घटनाक्रमहरू समेटिएका थिए,” संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।  उच्चस्तरीय द्विपक्षीय बैठकपछि नेपाल र भारतबीच ८ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर कार्यक्रम सकिएपछि दुवै देशका प्रधानमन्त्री प्रेस ब्रिफिङमा सहभागी भएका थिए । प्रधानमन्त्री बालेनले सोमबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । 
प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री बालेनले नेपालमा जनधनको ठूलो क्षति पुर्‍याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछिको अवस्थामा भारतले पुर्‍याएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरेका थिए । 
भारतका प्रधानमन्त्री मोदीले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने प्रतिबद्धता पुनः दोहोर्‍याएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भारतले नेपाललाई कुल २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराएको जनाइएको छ । जसमा नेपालमा विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरूका लागि ५६ अर्ब रुपैयाँ अनुदान सहायता तथा ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) समावेश छन् । “विकास सहायता उपलब्ध गराउने विशिष्ट परियोजनाहरू र त्यसको कार्यविधि पारस्परिक परामर्शमार्फत टुङ्ग्याइनेछ,” संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
दुवै नेताहरूले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) लगायत नेपालमा सञ्चालित विकास परियोजनाहरूको कार्यान्वयनमा भइरहेको निरन्तर प्रगतिप्रति सन्तोष व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।
भारत सरकारको सहयोगमा निर्माण भइरहेको नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्यमा भएको प्रगतिको पनि उनीहरूले सह्राना गरेको विज्ञप्तिमा उल्लेख छ ।साथै, दुवै नेताहरूले भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गरेका छन् । 
दुई नेताहरूले ‘विकसित भारत र समुन्नत नेपाल’ को संयुक्त दृष्टिकोण अवलम्बन गरेको विज्ञप्तिमा जनाइएको छ । “यस संयुक्त दृष्टिकोण वक्तव्यले भारत र नेपालबीचको महत्त्वाकांक्षी र भविष्यमुखी साझेदारीको मार्गचित्र प्रदान गर्दछ। यसमा आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्ध जस्ता द्विपक्षीय सहयोगका परम्परागत रूपमा बलिया क्षेत्रहरूलाई अझ सुदृढ बनाउने पहलहरूका साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रहरूमा नयाँ सहकार्यहरू समेटिएका छन्,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।
विद्यमान एकतर्फी बी३४५ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा कार्यविधि अन्तिम रूप दिन र हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयन प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिने जनाइएको छ । “प्रधानमन्त्री मोदीले दीनदयाल बन्दरगाह ९काण्डला, गुजरात० मार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ कनेक्टिभिटी मार्गको घोषणा गर्नुभयो। साथै, आवश्यक पूर्वाधार तयार भएपछि पारादीप बन्दरगाह (ओडिशा) मा समेत पहुँच उपलब्ध गराइनेछ,” विज्ञप्तिमा भनिएको छ ।
दुई नेताहरूले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइनहरूको निर्माणमार्फत सीमापार कनेक्टिभिटी सुधार र सीमा पूर्वाधार सुदृढ पार्नुको महत्त्वमाथि जोड दिएको विज्ञप्तिमा उल्लेख छ । दुई प्रधानमन्त्रीहरूले अयोध्या र जनकपुरबीचको पहिलो ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा सोमबार झण्डा हल्लाएर शुभारम्भ गरेका थिए । यस रेल सेवाले कनेक्टिभिटीमा सुधार ल्याउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन दिने र भारत तथा नेपालबीचको सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउने जनाइएको छ। 
नेताहरूले बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किटको विकासका लागि पनि यस्तै प्रकारका सम्पर्क सञ्जालको सम्भावना खोजी गर्न सहमति जनाएका छन् । “दुई नेताहरूले प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत सर्वेक्षण सम्पन्न भएको घोषणा गर्नुका साथै नेपालमा पूर्व–पश्चिम रेलमार्गको विकासमा दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो,” संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार