भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश फिर्ता

दिए मोदी र भारतीय जनतालाई धन्यवाद
सोमबार, मंसिर ७, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्केका छन् । प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि हिजो भारत भ्रणमा गएका थिए । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका थिए । भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्केका प्रधानमन्त्री शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी र भारतका नागरिकलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री शाहले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भारतीय प्रधानमन्त्री मोदी तथा भारतका जनताप्रति आभार व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, “सम्माननीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू तथा भारतका सम्पूर्ण जनतालाई धन्यवाद।”
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा गएका शाहले भ्रमणका क्रममा द्विपक्षीय भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाएका थिए । भ्रमण सम्पन्न भएपछि उनले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री र त्यहाँका नागरिकप्रति धन्यवाद व्यक्त गरेका हुन् । ​भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू, भारतीय समकक्षी नरेन्द्र मोदी विदेशमन्त्री एस जयशंकरसँग भेट वार्ता गरेका थिए । भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । ​भ्रमण टोली नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार