सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार तय गरिएको मतदान स्थगित भएको छ । निर्वाचन सामग्री समयमै उपलब्ध हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले मतदान शुक्रवार बिहान ७ बजेदेखि सुरु गर्ने गरी नयाँ समय निर्धारण गरेको हो । यसअघि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका थियो । तर, निर्धारित समयमा मतदान सुरु हुन नसकेपछि तीन पटक समय परिवर्तन गर्दै दिउँसो साढे २ बजेसम्म सारिएको थियो । पटक पटक समय संशोधन गरिए पनि मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले शुक्रवार बिहानका लागि नयाँ समय तय गरेको हो । निर्वाचन समितिले मतदानका लागि आवश्यक सामग्री छापाखानाबाट आउन ढिलाइ भएकाले निर्धारित कार्यतालिका अनुसार मतदान सञ्चालन गर्न नसकिएको जनाएको छ । संशोधित कार्य तालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूले शुक्रवार बिहान ७ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने
कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ । कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन् । श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने उनले बताए । उनले महाधिवेशन प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिए ।