सोसल मिडिया
Contact Us
युनिकोड
भैरहवा । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले विवाह, व्रतबन्ध, धार्मिक कार्य, मेला, र्याली तथा अन्य सामाजिक कार्यक्रममा मापदण्डविपरीत चर्को आवाजमा डीजे बाजा र ध्वनि विस्तारक यन्त्र बजाउँदा ज्येष्ठ नागरिक, बालबालिका, बिरामी र विद्यार्थीको स्वास्थ्य तथा पठनपाठनमा प्रतिकूल असर गर्ने भन्दै यस्ता यन्त्रको अनाधिकृत प्रयोग नगर्न-नगराउन सबैमा अनुरोध गरेको छ । यसले सामाजिक सद्भाव खलबल्याउने, विवाद निम्त्याउने तथा सार्वजनिक शान्ति सुव्यवस्थामा समेत खलल पुर्याउने सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले बताए । साथै कानुनद्वारा निषेधित पटाकाजन्य सामग्री पड्काउँदा ध्वनि र वातावरण प्रदूषण हुनुका साथै चोटपटक लाग्ने, आगलागी हुने, शान्ति सुरक्षामा असर पर्ने र नागरिकको मौलिक हक हनन् हुने भएकाले पटाकाजन्य पदार्थको प्रयोग पूर्ण रुपमा निषेध गरिएको न्यौपानेले जानकारी दिए । उल्लेखित कार्यहरु स्थानीय प्रशासन ऐन २०२८, मुलुकी अपराध संहिता, २०७४ (परिच्छेद दफा ११२, परिच्छेद ७), वातावरण संरक्षण ऐन, २०७६ (परिच्छेद ३, दफा १५), जनस्वास्थ्य सेवा ऐन, २०७५ (परिच्छेद ५, दफा ४०) तथा ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९, विस्फोटक पदार्थ ऐन २०१८ लगायत प्रचलित ऐन नियमविपरीत भएकोले कोहीकसैले यस्ता कार्यहरु गरे÷गराएमा प्रचलित कानूनबमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ । आफ्नो पर्व, उत्सव र कार्यक्रमलाई मर्यादित, सुरक्षित र वातावरणमैत्री बनाउन तथा सभ्य समाज निर्माणमा हातेमालो गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।
सातजना नियन्त्रणमा
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालयको परिसरबाट प्रहरीले सातजना बिचौलियालाई पक्राउ गरेको छ । मंगलबार कार्यालय परिसरमा बिचौलियाको कार्य गरिरहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताए । गुल्मीको मालिका गाउँपालिका–५ बस्ने २३ वर्षिय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४२ वर्षिय हेम प्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ बस्ने ४३ वर्षिय लक्ष्मी खनाल, सोही स्थान बस्ने ६२ वर्षिय खोमलाल भुषाल, बुटवल–८ बस्ने ५४ वर्षिय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ बस्ने ३१ वर्षिय बिजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ बस्ने ५३ वर्षिय प्ररमधोज श्रेष्ठलाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिए ।