प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

सोमबार, मंसिर ७, २०८३

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुका साथै स्मारकस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । यसअघि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान गारद प्रदान गरिएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबारदेखि सोमबारसम्म भारत भ्रमणमा रहेका शाहले आजै मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुनेछ । विशेषगरी व्यापार, लगानी, यातायात, पूर्वाधार, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान हुने कार्यक्रमसमेत रहेको छ । प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्री र उनको ३४ सदस्यीय प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत उच्च सरकारी अधिकारी सहभागी छन् । (एएनआई)

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार