कांग्रेस देउवा समूहले दशैंअघि क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने

बिहीबार, असोज २२, २०८३

काठमाडौं । अलग्गै महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको इतर समूहले दशैंअघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ ।  पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको काम ८० प्रतिशत सकेको र क्षेत्रीय अधिवेशन दशैं अघिसम्म सक्ने नेता किरणराज पौडेलले जानकारी दिए ।  उनले भने,‘हालसम्म वडाहरुको ८० प्रतिशत अधिवेशन सकेर, पालिकाहरुको भइरहेको छ । दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ ।’ कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन सम्पन्न गर्नलाग्दा इतर समूहले अलग्गै महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो । विहीबार नै काठमाडौं महानगरको नगर अधिवेशन हुँदैछ ।  उक्त समूहले पनि १५औं महाधिवेशन आगामी २१–२३ मंसिरका लागि तोकेको छ । सोहीअनुसार नै यस समूहले यही २० असोजमा पालिका, २३ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्रीय र ४ मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर हो ।  ‘७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतले काम गरिरहेका छन् । तोकिएको मितिमा महाधिवेशन गरेर पार्टीलाई सुदृढ ढंगले अगाडि बढाउँछौं,’ अर्का नेता गुरुराज वरालले भने । नेता बरालले संस्थापन समूहको महाधिवशेनलाई ‘क्लब’ संज्ञा दिंदै भविष्यमा खुम्चिएर सानो आकार लिने दाबी समेत गरे । ‘भग्रेल्ती पद थप्ने र विशेष महाधिवेशनका अगुवाहरुले आफू पराजित हुने डरले आफ्नो पद आफैं सिर्जना गरेर सुरक्षित रहने काम गरेका छन् । यस्तो काम लोकतान्त्रिक चरित्रको मान्न सकिदैन,’ उनले भने । कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशनमा होमिएका दुवै समूहले आफ्नो हठ कायम राखेका छन् ।  

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार