सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको एमाले प्रचार प्रमुख प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन् । आजको बैठकको मुख्य आकर्षण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहनेछ। पार्टीको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनीत गरेपछि उनी पहिलोपटक एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन् । यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारीहरू रहने र त्यसमा थप ७ जना सदस्यहरूलाई मनोनयन गर्ने निर्णय गरेको थियो, उनीहरू पनि साे बैठकमा सहभागी हुनेछन् । जसअनुसार ईश्वर पोखरेल (पूर्ववरिष्ठ नेता), प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा, शिवमाया तुम्बाहाङ्फे पनि पहिलाे पटक बैठकमा सहभागी हुनेछन् । आजको बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकारको प्रयोग गर्दै पार्टीका विभिन्न तह र निकायहरूको कार्यविभाजन तथा जिम्मेवारी टुंगो लगाउने बताइएको छ। बैठकबाट केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्यहरूका साथै ज्येष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागीय सदस्यहरूको जिम्मेवारी तय गर्ने एमालेको तयारी रहेको छ।