ब्रदर्स एफसी हङकङको ‘दशैं कप २०८३’ फुटसलको उपाधि टिम ग्रीनले जित्यो                                

टिम यल्लो उपविजेता                                              
मंगलबार, असोज २०, २०८३

काठमाडौं । ब्रदर्स एफसी हङकङको आयोजनामा सम्पन्न ‘दशैं कप २०८३’ फुटसल प्रतियोगिताको उपाधि टिम ग्रीनले जितेको छ । दशैंको अवसरमा आयोजित एकदिने प्रतियोगितामा टिम ग्रीनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो । उपाधि विजेता टिम ग्रीनले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता बनेको टिम यल्लोले पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको व्यक्तिगत विधातर्फ टिम ग्रीनका विजय थापा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । यस्तै, टिम यल्लोका सुसन मगर उत्कृष्ट रक्षक तथा अतित भण्डारी उत्कृष्ट खेलाडी घोषित भएका छन्। त्यसैगरी, टिम ग्रीनका राजकुमार ठकुरी (माने) प्रतियोगिताका उच्च गोलकर्ता बनेका छन् । एकदिने प्रतियोगितामा टिम ग्रीन, टिम यल्लो, टिम ब्लु र टिम पिंक गरी चार टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता लिग प्रणालीमा सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीहरूले खेलकुदमार्फत आपसी सम्बन्ध, सहकार्य र भाइचारालाई थप मजबुत बनाउने अवसर प्राप्त गरेका थिए । ब्रदर्स एफसीले खेलकुदलाई मनोरञ्जनसँगै स्वस्थ जीवनशैली र सामाजिक सम्बन्ध विस्तारको माध्यमका रूपमा अघि बढाएको जनाएको छ । प्रतियोगिताका सल्लाहकार सुनिल थापामगर र संयोजक इन्द्र लामाले दशैं कपले खेलकुदका माध्यमबाट विभिन्न क्षेत्रका व्यक्तिहरूबीच आपसी भाइचारा बढाउनुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य पूरा गरेको बताए । उनीहरूका अनुसार फुटसलजस्तो लोकप्रिय खेलमार्फत युवाहरूलाई सक्रिय बनाउने, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने तथा सहभागीहरूबीच आत्मीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । ब्रदर्स एफसी हङकङका अध्यक्ष हरि गुरुङले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । ब्रदर्स एफसीले खेलकुदसँगै सामाजिक तथा सामुदायिक गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ । क्लबले पत्रकार, कलाकार तथा विभिन्न पेशाकर्मीबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित फुटसल प्रतियोगितालाई एक उत्सवका रूपमा अघि बढाएको हो । प्रतियोगितामार्फत सहभागिहरूबीच आपसी सम्बन्ध सुदृढ हुनुका साथै खेलकुदप्रति सकारात्मक सोच, स्वस्थ प्रतिस्पर्धाको वातावरण र संस्थागत सहकार्य तथा नेटवर्क विस्तार हुने अपेक्षा आयोजकले गरेको थियो । प्रतियोगिताको आयोजनाका लागि खेलाडीका जर्सी, रेफ्री तथा प्राविधिक टोली, चिकित्सा टोली, पानी तथा ग्लुकोज, ट्रफी, मेडल तथा प्रमाणपत्र, चिया–नास्ता, प्रचारप्रसार तथा फोटो–भिडियो कभरेजलगायतको व्यवस्थापन गरिएको थियो । ब्रदर्स एफसी दशैं कप २०८३ को मिडिया पार्टनरमा आर्थिक प्लस र अखबार नेपाल रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार