पश्चिम नेपालबाट बाहिरियो मनसुन

शनिबार, असोज १७, २०८३

काठमाडौं । पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ ।  नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जानकारी दिएको हो ।  महाशाखाले भनेको छ, ‘आज मिति २०८३ असोज १७ का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट बाहिरिएको छ।’ मौसमविद्का अनुसार मनसुन एकैचोटि पूरै देशबाट बाहिरिँदैन। यो प्रणाली देशको पश्चिमी क्षेत्रबाट क्रमशस् हट्दै हट्दै पूर्व कोसी प्रदेशबाट बाहिरिन्छ। मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरिन केही दिन लाग्छ।  नेपालबाट वर्षा यामको मौसम प्रणाली मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। यद्यपि यो औसत मिति मात्र भएकाले मनसुन ठ्याक्कै यही दिन नेपालबाट बाहिरिँदैन, यसको केही दिन अघि वा पछि बाहिरिन्छ। यसपटक औसत मितिको भोलिपल्ट अर्थात् अक्टोबर ३ तारिखका दिन देशका केही प्रदेशबाट मनसुनको प्रभाव हटेको हो । अब केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।  नेपालमा मनसुन भित्रिने औसत मितिचाहिँ जुन १३ तारिख हो । यस वर्ष मनसुन यो मितिभन्दा ६ दिन ढिला जुन १९ तारिख (असार ५ गते) कोसी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलिँदै जुन ३० तारिख (असार १६ गते) सुदूरपश्चिम प्रदेशसम्म पुगेको थियो अर्थात् देशव्यापी भएको थियो ।  मनसुन अवधिमा नेपालमा मनसुनी अर्थात् पूर्वी वायु चल्छ भने यसको अन्त्यपछि पश्चिमी वायुको प्रभाव बढ्छ । मनसुन पूर्ण रूपमा अन्त्य भएपछि पोस्ट(मनसुन सुरु हुन्छ। यो सिजन २ महिना( अक्टोबर र नोभेम्बरसम्म रहन्छ। अनि डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ । 
अनि मार्च १ देखि प्रि–मनसुन लाग्छ । प्रि–मनसुन ३ महिना(मार्च, अप्रिल र मेसम्म रहन्छ । यद्यपि मनसुन नभित्रिँदासम्म प्रि–मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ ।  मौसमविद्का अनुसार प्रि–मनसुन, मनसुन, पोस्ट(मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।

आजका लागि यस्तो छ मौसम प्रक्षेपण

२०८३ असोज १७ गते (शनिबार)

दिउँसो : कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी तथा देशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी र बागमती प्रदेशका तराई भूभागका एक(दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
राति : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग तथा देशका तराई क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानपख हुस्सु लाग्नेछ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशका तराई भूभागमा पनि आंशिक बदली रहनेछ। यस्तै,कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै,मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार