अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

आइतबार, साउन २४, २०७८

लण्डन । अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकोले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरूले अफगानिस्तानमा आफ्ना नागरिकहरूलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ । काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जानकारी गराएको छ ।  अमेरिकाले आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ ।
स्थानीय अधिकारीहरूका अनुसार तालिवान लडाकुहरूले निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका छन् । त्यसलाई सरकारी फौजका निम्ति ठूलो धक्काको रूपमा हेरिएको छ ।  दक्षिण–पश्चिमी अफगानिस्तानको उक्त शहर तालिबान लडाकुहरूको नियन्त्रणमा गएको पहिलो प्रान्तीय राजधानी बनेको छ । तालिवान लडाकू समूहको अबको निशानामा दक्षिणी शहरहरू कान्दहार र लश्कर गह रहेको देखिएको छ । शुक्रवार ट्विटरमा एउटा पोस्ट गर्दै तालिबान लडाकुहरूले इरानी सीमासँग जोडिएको एउटा महत्त्वपूर्ण व्यापार केन्द्र जारञ्जमाथि कब्जा गरेको दाबी गरेका थिए ।

३८५ लडाकू मारिए, २१० घाइते

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकू मारिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु २१० जना घाइतेसमेत भएका छन् ।  देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्तसमेत भएको जनाएका छन् ।  विषेश गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलान र कापिसा प्रान्तमा घटना भएका हुन् । पछिल्ला केही हप्ता अफगानिस्तनमा सुरक्षा कारबाहीमा परी मृत्यु भएकाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । तालिवान लडाकूले देशका विभिन्न सहरलाई आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन् । –एएफपी
 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार