नेपाललाई समयमै महत्वपूर्ण सूचना दिएका थियौँ : चीन

अगस्ट २६ मै आकस्मिक भर्चुअल बैठक सम्पन्न
शनिबार, भदौ १३, २०८३

काठमाडौं । नेपालमा हालै आएको बाढीपहिरोको जोखिमबारे चीनले नेपाललाई पूर्वसूचना नदिएको भन्ने आरोपको चिनियाँ दूतावासले खण्डन गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै चिनियाँ र अन्तर्राष्ट्रिय विज्ञहरूको अध्ययनका आधारमा हिमालय क्षेत्रमा विपद्को जोखिम अत्यन्त छरिएर रहेको र उच्च हिमाली क्षेत्रमा निरन्तर निगरानी चुनौतीपूर्ण रहेको बताएका छन् । दूतावासका अनुसार हिमालय क्षेत्रमा ४ हजारदेखि ५ हजार मिटर वा सोभन्दा माथिको उचाइमा ठूलो संख्यामा हिमताल तथा हिम–चट्टानका संरचना रहेका छन् । ती क्षेत्रमा नियमित स्थलगत सर्वेक्षणमार्फत तल्लो भूभागमा जस्तो व्यापक निगरानी गर्न कठिन हुने दूतावासको भनाइ छ । विज्ञप्तीमा भनिएको छ,‘चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूले गरेका अनुसन्धानका निष्कर्षअनुसार हिमालय क्षेत्रमा विपद्का जोखिम क्षेत्रहरू अत्यन्तै छरिएका छन् । ठूलो संख्यामा हिमताल तथा हिम–चट्टानका संरचनाहरू ४ हजारदेखि ५ हजार मिटर वा त्यसभन्दा माथिको उचाइमा रहेका उच्च हिमाली चिसा क्षेत्रमा अवस्थित छन् । यस्ता क्षेत्रमा नियमित स्थलगत सर्वेक्षण गर्ने जनशक्तिले न्यून उचाइका क्षेत्रमा जस्तो व्यापक निगरानी गर्न सक्दैनन् ।’ यस्तै, ठाडा भूभागमा तस्बिर तथा उपग्रहबाट गरिने निगरानीमा हुने त्रुटि र विशाल तथा जटिल भूभागमा उच्च–सटीकता निगरानी गर्नु अन्तर्राष्ट्रियस्तरमै चुनौती रहेको दूतावासले जनाएको छ । दूतावासले २५ अप्रिल २०१५ को नेपाल भूकम्पले हिमालयको दक्षिणी ढलानमा रहेका चट्टान संरचनामा समेत असर पारेको र त्यसले हिमाली चट्टान तथा भू–संरचनाको जोखिमबारे थप अनिश्चितता बढाएको उल्लेख गरेको छ । दूतावासले विज्ञप्तीमा भनेको छ ‘२५ अप्रिल २०१५ मा नेपालमा गएको भूकम्पले हिमालयको दक्षिणी ढलानमा रहेका चट्टानी संरचनाहरूलाई प्रभावित गरेको थियो, जसका कारण हिमाली क्षेत्रमा रहेका चट्टानका संरचनाहरूको जोखिमसम्बन्धी अनिश्चितता थप बढेको छ। चिनियाँ विज्ञ टोलीहरूले उपलब्ध प्रविधिको सीमाभित्र रहेर निगरानी, मूल्यांकन र विश्लेषण गर्न सधैँ हरसम्भव प्रयास गर्दै आएका छन् र महत्वपूर्ण सूचनाहरू नेपाली पक्षसँग समयमै आदानप्रदान गर्दै आएका छन् ।’ चिनियाँ विज्ञ टोलीहरूले उपलब्ध प्रविधिको सीमाभित्र रहेर निरन्तर निगरानी, जोखिम मूल्यांकन र विश्लेषण गर्दै आएको तथा महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै साझा गर्दै आएको दूतावासको दाबी छ । दूतावासका अनुसार नेपाल र चीनबीच सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर निकट सम्पर्क रहँदै आएको छ । गत मे महिनामा चीनको जलस्रोत मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको थियो । उक्त टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने विषयमा छलफल गरेको र महत्वपूर्ण प्रगति भएको दूतावासले जनाएको छ। त्यस्तै, अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय जोखिम तथा वातावरण संस्थानको टोलीले नेपाल भ्रमण गरी वैज्ञानिक अनुसन्धान तथा आदानप्रदान गरेको थियो। उक्त क्रममा चीनले हिमतालको निगरानीसम्बन्धी आफ्नो व्यावहारिक अनुभवसमेत नेपालसँग साझा गरेको दूतावासको भनाइ छ।

अगस्ट २६ मै आकस्मिक भर्चुअल बैठक

दूतावासले अगस्ट २६ मा चीनको मौसम प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरेको पनि उल्लेख गरेको छ। बैठकमा विपद्को अवस्थाको मूल्यांकन गर्नुका साथै तथ्यांक आदानप्रदान गरिएको दूतावासले जनाएको छ । दूतावासले भनेको छ ‘अगस्ट २६ मा चीनको मौसम प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरेको थियो। बैठकमा विपद्को अवस्थाको मूल्यांकन गर्नुका साथै तथ्यांकसमेत एकैसाथ आदानप्रदान गरिएको थियो।’ चीनले अहिले पनि नेपालसँग जल तथा मौसमसम्बन्धी सूचना निरन्तर साझा गरिरहेको र यसमा सीमावर्ती क्षेत्रमा रहेका तालको निगरानीसम्बन्धी तथ्यांकसमेत समावेश रहेको जनाएको छ। चीनको मौसम प्रशासनले ‘माजु’ (MAZU) नामक चिनियाँ बौद्धिक मौसम पूर्वसूचना प्रणालीअन्तर्गत नेपाललाई प्रारम्भिक चरणमा अनुकूलित सेवासमेत उपलब्ध गराएको दूतावासले बताएको छ ।

यसले सीमापार विपद् व्यवस्थापनमा दुवै देशको प्रतिक्रिया क्षमता बढाउन सहयोग गर्ने उसको दाबी छ।

दूतावासले यी गतिविधिले विपद् जोखिम न्यूनीकरणमा नेपालसँग सहकार्य गर्न चीनले दिएको महत्व र उसको सदाशयता देखाउने दाबी गर्दै नेपाल–चीनबीच यस क्षेत्रमा आगामी दिनमा सूचना आदानप्रदान र सहकार्य थप गहिरो हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार