सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा भएको छुट्टाछुट्टै भेटवार्तामा नेपाल–स्विट्जरल्यान्डबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपाल पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सशक्त बनाउने प्रयासमा रहेको बताए । सन् २०२६ को अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्विट्जरल्यान्डका राष्ट्रपति महामहिम गाई पार्मेलिन, राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पेज तथा स्वीस सङ्घीय परराष्ट्र विभागबाट नेपाल सरकार र नेपाली जनताप्रति व्यक्त गरिएको समवेदना सन्देशका लागि सभामुख अर्यालले हार्दिक आभार व्यक्त गरे । उनले विपद्का बेला स्विट्जरल्यान्डले प्रदान गरेको ऐक्यबद्धता, मानवीय सहायता, कन्सुलर सहयोग तथा खोज तथा उद्धारसम्बन्धी सहयोगको उच्च प्रशंसा गरे। साथै, मानवीय राहत तथा उद्धार प्रयासमा सहयोग पुर्याउन संयुक्त राष्ट्रसङ्घमार्फत स्विस सरकारले उपलब्ध गराएको २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायताका लागि धन्यवाद व्यक्त गरे। नेपाल स्विस विकास तथा सहयोग निकायका प्राथमिकता प्राप्त देशहरूमध्ये एक रहेको उल्लेख गर्दै सभामुख अर्यालले स्विस विकास सहकार्यले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले आगामी दिनमा नेपालसँगको विकास सहकार्यको दायरा अझ विस्तार हुने विश्वाससमेत व्यक्त गरे । सभामुख अर्यालले हालै गठित आठ सदस्यीय नेपाल–स्विस संसदीय मैत्री समूहमार्फत दुई देशबीचको संसदीय सम्बन्ध, सहयोग र अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । उनले नेपालजस्तो प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकमा प्रकृतिप्रदत्त हिमाल र जलस्रोतको सदुपयोग गरी जलविद्युत् क्षेत्रको विकास गर्न सकिने धारणा व्यक्त गरे । नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा सभामुख अर्यालको निमन्त्रणामा राष्ट्रिय परिषद्का अध्यक्ष पेज सोमबार नै नेपाल आइपुगेका हुन् ।