सोसल मिडिया
Contact Us
युनिकोड
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेपछि त्यसको छिनोफानो लगाउन लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन् । साउन २७ गते १ बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेशसभा सचिवालयले आज सूचना प्रकाशित गरी नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि आह्वान गरेको विशेष अधिवेशन संविधान विपरीत भएको एमालेको दाबी छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गरे । ‘अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेश प्रमुखले बोलाउनुभएको विशेष अधिवेशनप्रति एमालेको गम्भीर आपत्ति छ,’ उनले भने, ‘यो संविधान विपरीत छ, यसले संविधान उल्लंघन गरेको छ ।’ ढकालले विशेष अधिवेशन आह्वानप्रति पार्टीमा थप छलफल गरेर अघि बढ्ने बताए । उनले सांसद विमला वलीले पार्टीको ह्वीप उल्लंघन गरेको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको स्पष्टीकरण पत्र बुझाउन आफू वलीको घर दाङ गएको दाबी गरे । वली एमाले संसदीय दलको बैठक र दाङ जिल्ला पार्टी कमिटीमा उपस्थित भएर हस्ताक्षर गरेकाले उनी एमाले नै भएको ढकालले तर्क गरे । वलीमाथि पार्टीले कारबाही गर्नसक्ने समेत उनले बताए । प्रमुख सचेतक ढकालले मुख्यमन्त्री शंकर पोखरेलले तत्काल राजीनामा नदिने पनि बताए ।