सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेकी नेत्री तथा समाजशास्त्री विद्या भट्टराईले बामपन्थी आन्दोलनले आफ्नो विगत, वर्तमान अवस्था र भविष्यको दिशा गहिरो रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन् । मंगलबार काठमाडौं आयोजित ‘आजको राजनीति चुनौती, एजेन्डा र निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बामपन्थी आन्दोलनले आफ्नो मूल वैचारिक पहिचान कति जोगाउन सक्यो भन्ने प्रश्न आजको मुख्य बहस हुनुपर्ने धारणा राखिन् । उनका अनुसार बामपन्थी आन्दोलनले हिजो समाज परिवर्तनका ठूला एजेन्डा उठाए पनि निर्णय र कार्यान्वयनको चरणमा पुग्दा कमजोर हुने प्रवृत्ति देखिएको छ । उनले बामपन्थी आन्दोलनभित्र वैचारिक स्पष्टता कमजोर हुँदै गएको उल्लेख गर्दै बीचको समयमा आन्दोलन आफ्नो मूल विचारबाट टाढिँदै गएको टिप्पणी गरिन् । ‘हामी क्रान्तिकारी कुरा धेरै गर्छौं, तर कार्यान्वयन र नतिजा दिने ठाउँमा पुग्दा अलमलिन्छौं,’ उनले भनिन् । विद्या भट्टराईले संविधान निर्माण प्रक्रियालाई ऐतिहासिक उपलब्धि भए पनि त्यसको पूर्ण कार्यान्वयनमा राजनीतिक दलहरू चुकेको बताइन् । उनका अनुसार संविधानले सामाजिक न्याय, समावेशी लोकतन्त्र र समाजवादउन्मुख राज्यको परिकल्पना गरे पनि व्यवहारमा ती विषयहरू कमजोर रूपमा लागू भएका छन् । उनले संविधान निर्माणपछि विभिन्न राजनीतिक शक्ति र आन्दोलनबीच सहमति भए पनि असहमति भएका पक्षहरूसँग पर्याप्त संवाद नहुँदा समस्या बढेको उल्लेख गरिन्। ‘संविधान सबैको साझा दस्तावेज भनिए पनि त्यसलाई सबै पक्षसँग मिलाएर लैजाने अभ्यास कमजोर रह्यो,’ उनले भनिन् । उनले थप्दै भनिन्, बामपन्थी आन्दोलनले सामाजिक मुद्दाहरूलाई राजनीतिक आन्दोलनका रूपमा उठाए पनि राज्यमा पुगेपछि ती मुद्दा क्रमशः कमजोर हुँदै गएको छ। त्यसको सट्टा सत्ता, वर्चस्व र शक्ति सन्तुलनमा केन्द्रित हुने प्रवृत्ति बढेको उनको विश्लेषण छ । त्यस्तै उनले राजनीतिक दलहरू भित्र विचारको विकास कमजोर हुँदै गएको र नेतृत्व हस्तान्तरण नहुनु आजको प्रमुख चुनौती भएको बताइन्। उनका अनुसार लामो समय एउटै नेतृत्व रहँदा संस्थागत सुधार र नयाँ पुस्ताको सहभागिता कमजोर हुन्छ । उनले दलाल पुँजीवादको प्रभाव, सामाजिक न्यायको कमजोर कार्यान्वयन, र समाज–राज्य सम्बन्धमा आएको दूरीले बामपन्थी आन्दोलनमाथि प्रश्न उठाएको बताइन् । कार्यक्रममा उनले राजनीतिक शक्ति मात्र होइन सामाजिक शक्ति, शिक्षा, प्रविधि र नागरिक चेतनालाई पनि शक्तिको रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याइन् ।