सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्प (सगरमाथा आधार शिविर)मा केही दिन अघि अनुमति विना एक ड्रोन उद्घाटन गरेपछि पर्यटन विभागबाट अस्थायी फिल्ड कार्यालयमा खटिएका उपसचिव ई. खिमलाल गौतममाथि गम्भीर प्रश्न उठेको छ । काठमाडौंदेखि सगरमाथाको फेदीसम्म पुग्दासम्म उक्त ड्रोन कसरी र कुन माध्यमबाट वा कुन संस्थाको सहजीकरणमा पुगेर उद्घाटन गरियो भन्ने गौतमले थाहा नपाएको विषय रहस्यमय बनेको छ । जबकि गौतम बस्ने स्थान उद्घाटन स्थलभन्दा पाँच मिटर दूरीमा छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाट मिति २०८३ बैशाख ३ गते जारी भएको पत्र संख्या २०८२/०८३ र चलानी नम्बर २०८१ मा नापी विभागका ईन्जिनियर समेत रहेका उपसचिव गौतम ड्रोन उद्घाटन भएको पाँच मिटर नजिक उनी बस्ने गर्छन् । तर अमेरिकी ड्रोन उद्घाटनको भिडियो, फोटो तथा समाचार संसारभर सार्वजनिक भएपछि गौतमलाई टाउको दुखाइ भएको थियो । सार्वजनिक उक्त कार्यक्रमको ‘भिडियो कसले मिडियामा पठायो, अनुसन्धान गर्नुपर्छ’ भन्दै ‘दादागिरी’ शैलीमा सरकारलाई सूचना दिनुभन्दा लुकाउनमा केन्द्रित भएको कार्यक्रममै सहभागि भएकाहरुले बताए । पछि, उक्त भिडियो मिडियामा सार्वजनिक गर्ने एक जना बरिष्ठ पत्रकारलाई विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन आधार शिविरबाट फिर्ता गराउन सफल भएका थिए । त्यसपछि गौतमले ड्रोन तथा फिल्मी प्रयोजनका लागि अनुमति लिएर पुगेका अन्य कम्पनीमाथि खानतलासी एवम कडाइ गर्दै ‘दादागिरी’ देखाउन थालेको कम्पनी प्रतिनिधिहरुको गुनासो छ । विभागले २०८२।१२।२७ गतेको निर्णय अनुसार भन्दै सगरमाथा आधार शिविरमा सन् २०२६ वसन्त ऋतु पर्वतारोहण अभियानको अवधिभर फिल्ड कार्यालयमै रही सुपरीवेक्षण गर्ने सुपरीवेक्षण नियमन गर्ने तथा कार्यविवरण(टीओआर) अनुसार काम गर्ने अनुमति दिएपनि अनावश्यक दुःख दिने गरेको गुनासो नेपाल न्यूज बैंकलाई प्राप्त भएको छ । खुम्बु क्षेत्रको पर्वतारोहण गतिविधिलाई स्वच्छ, मर्यादित र सुरक्षित बनाउन नियमित स्थलगत निरीक्षण र अनुगमन गर्ने अधिकारलाई दुरुपयोग गर्दै उनले अनुमति लिएर पुगेका ड्रोन उडान र व्यावसायिक सुटिङका कम्पनीहरुको टेन्टभित्रै प्रवेश गरेर खानतलासी गर्दै दुःख दिंदै आएका छन् । एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेको भिडियो तथा समाचारहरु बाहिरिएपछि अनुत्तरित बनेका गौतमकै अगुवाइमा अनुमति लिएर आधार शिविर पुगेका कम्पनीहरुमाथि मंगलबार विहान पनि टेन्टभित्रै छिरेर खानतलासी गरेको र अनावश्यक दुःख दिने गरेको कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । तर गौतमले १८ घन्टा अगाडि मात्र ड्रोनबाट कैद भएको भिडियो आफ्नो सामाजिक संजालमा सार्वजनिक गरेका छन् । उक्त भिडियोकै सम्बन्धमा पनि प्रश्न उठेको छ । उक्त भिडियो कहाँबाट अनुमति लिएर खिचिएको हो वा ड्रोन मोडल कुन हो भन्ने उल्लेख छैन् । या उनले आफैं ड्रोन उडाएर भिडियो कैद गरेका हुन वा उनलाई कुनै अनुमति नचाहिने हो ? प्रश्न उठेको छ । घट्नाका विषयमा आवश्यक प्रतिक्रिया लिनका लागि गौतमको मोबाइल नम्बर ९८५१०३७५५६ मा सम्पर्क गर्दा ‘स्वीच अफ’ भएको पाइयो । उनी सन् २०११ देखि सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयमा निरन्तर खटिदै आएका छन् । सन् २०२५ बाहेक स्न २०११ देखि हरेक बर्ष उनलाई फिल्ड कार्यालयमा खटाइएकोमा पनि आशंका देखिएको छ । यता, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले भने गौतमले गरिरहेका गतिविधि मापदण्ड वा कार्यविधि अनुसार नै रहेको बताउँछन् । लामिछानेले अनुमति नभएका ड्रोन उडान साथै अनुमति बिना व्यावसायिक सुटिङबारे अनुगमन एवम निरीक्षण गर्ने अधिकार भएपनि नियन्त्रण गर्न नपाउने उल्लेख गर्दै हाल भइरहेका गतिविधिबारे थप अध्ययन गरिरहेको बताए । सगरमाथा जस्तो संवेदनशील र राष्ट्रिय गौरवको विषयलाई विवादित नबनाउन पनि उनले आग्रह गरे । अमेरिकन ड्रोन उद्घाटनबारे महानिर्देशक लामिछानेले भने,‘अमेरिकन ड्रोन उद्घाटनको विषय र अनुमति दिने कुरा हाम्रो मातहतको होइन । गृह र संचारले गर्छ । तर उहाँहरुसँग समन्वय चाहीं भइरहेको हुन्छ । उपसचिव गौतमले गरिरहेको पछिल्लो गतिविधिबारे जानकारी प्राप्त भएको छैन् । तर उहाँहरु फिल्ड अबजर्भेसन चाहीं गरिरहनु भएको छ,’ उनले अगाडि भने,‘अमेरिकन ड्रोन उद्घाटन गरेको कुरा हामीले थाहा पाउने भन्दापनि गृह वा संचार मन्त्रालयहरुले हेर्ने कुरा हो । कार्यक्षेत्र भन्दा बाहिर गएर काम गर्न पनि मिल्दैन् । सम्बन्धित निकायहरुलाई अनुरोध गरेर पठाउने मात्र हो ।’ उनले खानतलासी लिएको वा निगरानी गरेकोबारे आफूले अध्ययन गरिरहेको बताए । गौतमलाई नै फिल्ड अफिसमा निरन्तर खटाइनुबारे महानिर्देशक रेग्मीले योग्यता, क्षमता र स्वास्थ्यका कारणले भएको प्रष्ट पारे । ‘संवेदनशिल स्थानमा निजामति कर्मचारीहरु दुई महिनासम्म बस्न जोकोही बस्न सक्दैन । क्षमता, योग्यता र स्वास्थ्यको कुरा आउँछ,’ उनले भने । तर विभागको फिल्ड कार्यालयले जारी गरेको टीओआरमा पर्यटन ऐन, २०३५ र पर्वतारोहण नियमावली, २०५९ को पालना सुनिश्चित गर्ने, नियम उल्लङ्घन गर्ने (जस्तैः अनुमति बिना हिमाल आरोहण प्रयास, अनुमति नभएका ड्रोन उडान, अनुमति बिना व्यावसायिक सुटिङ वा मापदण्ड विपरितका गतिविधि) कार्यहरुका गरेको पाइएमा आवश्यक कारवाहीका लागि विभागमा सिफारिस गर्ने उल्लेख छ । साथै, पर्वतारोही दलको सदस्य सहयोगी वा सम्पर्क अधिकृत बिरामी भएमा वा दुर्घटनामा परी तत्काल उद्वार गर्नुपर्ने भएमा पर्वतारोहण शाखा, जिल्ला प्रशासन कार्यालय, खुम्बु पासाङ ल्हामु गापा. र पर्यटक प्रहरी कार्यालयलाई जानकारी गराई यथाशीघ्र उद्वारको लागि समन्वय र सहजीकरण गर्ने उल्लेख छ । साथै फिल्ड कार्यालयले सम्पर्क अधिकृतहरुको आधार शिविरमा उपस्थिति तथा आरोहीहरूको आरोहण सम्बन्धी विस्तृत विवरण सम्बन्धी अभिलेख राखी विभागमा नियमित रिपोर्टिङ गर्ने पनि उल्लेख छ । त्यस्तै पर्वतारोही दलका नेता, सदस्यहरु, पथप्रदर्शक, सहयोगीहरु, सम्पर्क अधिकृत र सम्बन्धित एजेन्सीले कानून बमोजिम निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरे नगरेको अनुगमन, निरिक्षण गरी विभाग समक्ष प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ ।