नयाँ बर्ष २०८३

‘स्विजटरल्याण्डको बाउ’ बडीमालिकासहित यी हुन् घुम्नलायक बाजुराका गन्तब्य

मंगलबार, वैशाख १, २०८३

बाजुरा । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम गर्ने प्रचलन छ । नयाँ बर्षको छेको पारेर पदयात्रा गर्ने, प्राकृतिक सुन्दरतामा रमाउने र नयाँ नयाँ पर्यटकीय स्थलहरुको घुमघाममा रमाउनेहरुको संख्या बढ्दो पाइन्छ । यसमध्ये बाजुरामा घुम्न लायक दर्जनौं पर्यटकीय स्थलहरु छन् । उक्त स्थानहरुको भ्रमणले नयाँ बर्षमा थप उमंग र उत्साह ल्याउनेछ ।

बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु

बडीमालिका : बाजुराको त्रिवेणी नगरपालिकामा अवस्थित बडीमालिका चर्चित धार्मिक तथा पर्यटकीय स्थल मध्ये एक हो । यहाँ हरेक बर्ष जनै पूणिर्माको बेला पूजाआजा हुनेगर्छ । बडीमालिका माताको दर्शन गर्न देश तथा विदेशबाट लाखौं दर्शनार्थी त्यहाँ जाने गरेका छन् । धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् । छिमेकी देश भारतलगायत अन्य छिमेकी देशबाट दर्शनार्थी बडीमालिका पुग्ने गर्छन् । बडीमालिकामा अहिले नेपाली सेनाले करिब दुई करोडको लागतमा प्यागोडा शैलीमा बडीमालिका माताको मन्दिर समेत निर्माण गरेको छ । साथै प्रधानमन्त्री बालेन्द्र शाहले बडीमालिकालाई ‘स्विजटरल्याण्डको बाउ’ भनेपछि झनै विश्वभर चर्चामा छ । अहिले बडीमालिकामा सेताम्य हिउँ भएकाले यात्रा गर्न निकै मुस्किल पर्छ । धार्मिक आस्थाको धरोहर बडीमालिकामा हरेक बर्ष साउन शुक्ल चदुर्दशीका दिन मेला लाग्ने गर्छ । बडीमालिका क्षेत्रमा हरियाली फाँटमा भेँडा र घोडा वा खच्चडका बथान देख्न सकिन्छ । लोपन्मुख प्रजातीका वन्यजन्तु तथा पशु पंक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदिङ पनि भेटिन्छन । बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालिकोटबाट सरकारी पूजा टोली बाजुरा पुगाइ सरकारी पूजा टोली बाजागाजाका साथ बडीमालिका लैजाने प्रचलन रहिआएको छ ।

बुढिनन्दा ताल : बाजुराको बुढिनन्दा नगरपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल बुढिनन्दा दिव्य भूमि हो । प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बुढीनन्दा तीर्थस्थल धार्मिक, पर्यटकीय, पौराणीक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ । बुढीनन्दत बुढी भनेको जेठो, नन्दा भनेको अविवाहित कन्या भन्ने अर्थ लाग्दछ । नौ माईदेवी भगवती मध्ये बुढीनन्दा माई भगवती जेठी हुन भन्ने भनाई रहेको छ । देवीको पनि देवी र अविवाहित भएकाले बुढीनन्दा माइ भनिएको कहावत रहँदै आएको छ । सतीदेवीको खुट्टाको बुढीऔंला खसेकाले बुढीनन्दा माईको अवतार भएको भनाइ छ । बुढिनन्दा चट्टानै चट्टानको बिचमा ठुलो ताल छ । यस वरीपरी साना ठुला गरी अरु ९ ओटा तालहरु पनि छन् । मुख्य तालको उचाइ ४ हजार ५८१ मिटर उचाइमा रहेको ताल तिलिचो पछी दोस्रो अग्लो स्थानमा रेहको ताल मानिदै आएको छ । धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दाको पनि कैलाश ताल,राक्षस ताल, त्रिबेणी ताल, दउने ताल लगाएतका तालहरु छन् । १० महिना सेतो हिँउको घुम्टोमा बुढिनन्दा ढाकिन्छ । यसलाई पहाडै पहाडको शहर समेत भनेर चिनिन्छ । यहाँका फरक तालहरूको विशेषता आ–आफ्नै छ । कोही दानवका लागि महत्वको बोकेका छन् । कोही भगवानका लागी । यहाँ पुगेर दर्शन गरेको खण्डमा मागेको वर प्राप्त हुने जनविश्वास छ ।

रानीसैन : बाजुरा जिल्लाको पर्यटकीय क्षेत्र रानीसैन एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यो बाजुरा र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ । रानीसैन पर्यटकीय विकासका हिसावले प्रचुर सम्भावना बोकेको क्षेत्र हो । सुन्दरताले भरिएको यहाँ सुन्दर मनमोहक दृश्य देख्न सकिन्छ । बाजुराको हिमाली गाउँपालिकाको वडा नम्बर ३ मा रानीसैन पर्यटकीय क्षेत्र रहेकोे छ । स्वर्ग जस्तै सुन्दर हिमाल र हिमतालहरू भएका कारणले रानीसैन प्रख्यात छ । रानीसैन समुद्री सतहबाट ३ हजार ५७८ मिटरको उचाइमा छ । हेर्दा चारैतिर प्रकृतिले टपक्कै फुर्सदमा कोरेको ठाउँ जस्तै देखिन्छ । रानीसैन पाटन र हिमताल साथै सानातिनादेखि ठुला खालका झरनाहरु अवलोकनसहित रमाउन सकिन्छ । हिमाल र पहाडका बीचमा सम्म परेर वर्षा याममा हरियो र हिउँद याममा सेतो कार्पेट प्रकृतिले ओछ्याए जस्तो एक सुन्दर आनन्द रमाइलो अनुभुती हुने स्थानको रुपमा रानीसैनलाई लगिन्छ । रानीसैनको पश्चिममा अपि सैपाल हिमालको हिउँले ढाकेको छ । फेदीमा ३ हजार ५ सय ७८ मिटरको उचाइमा हिमताल छ । जुन ठाउँबाट दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न सकिन्छ । पर्यटकीय क्षेत्र नजिकै जडिबुटीको भण्डार, बुकी, घाँस लगायतका चिजबिज पाइने गरेका छन् । यहाँ जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँचऔँले, सेतो चिनी, विष, यार्सागुम्बा लगायतका सयौं जातिका जडीबुटी पाइन्छन् । रानीसैन पर्यटन प्रबद्र्धन, संरक्षण र सम्बद्र्धनको पर्खाइमा छ । यहाँ घुम्न जाने पर्यटकले यसलाई पहाड भित्र लुकेको नयाँ संसार उपनाम दिने गरेका छन् ।

खप्तड क्षेत्र : यो एक प्रमुख धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्य हो । जुन बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ । यस क्षेत्रमा सुन्दर पाटन, झोती (थुम्का), दह, खप्तड राष्ट्रिय निकुञ्ज, र प्रसिद्ध त्रिवेणीधाम जस्ता पर्यटकीय आकर्षणहरू छन् । जहाँ खप्तड बाबाले ५० वर्षसम्म तपस्या गरेका थिए । धार्मिक तथा प्राकृतिक दुबै दृष्टिकोणले खप्तड महत्वपूर्ण मानिन्छ । शान्त वातावरण, घाँसे मैदान र आध्यात्मिक अनुभवका लागी यो क्षेत्र प्रसिद्ध छ । खप्तड क्षेत्रमा २२ वटा पाटन रहेका छन् । बाघ बुट्टे निगांलो पाइने यो राष्ट्रिय निकुञ्ज समेत हो ।यस क्षेत्रको भ्रमणले मनोकांक्षा पूरा हुने र आध्यात्मिक अनुभव प्राप्त हुने जनविश्वास छ ।

नाटेश्वरी मन्दिर : यो एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र हो । विशेषगरी जनैपूर्णिमा, चैत्र अष्टमी र बडादसैँमा देवीको पूजा गर्नका लागि हिन्दू धर्मावलम्बीहरूमा नाटेश्वरी मन्दिरको निकै महत्त्व छ । यस मन्दिरमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नाटेश्वरी देवीको पूजा गर्न र बली चढाउन आउने गर्दछन् । समुन्द्री सतहबाट एक हजार ४ सय फिट उचाइमा अवस्थित यो मन्दिर बाजुराको त्रिवेणी नगरपालिका—७ मा पर्छ । जनैपूर्णिमाको दिन अर्थात् आज नाटेश्वरी मन्दिरमा ठूलो पूजा लागेको छ बडीमालिकालाई बहिनी र नाटेश्वरीलाई दिदी भएको जनविश्वास रहिआएको छ । नाटेश्वरीलाई ‘नाचनथली’ पनि भन्ने गरिन्छ । भगवान शिव–पार्वतीलगायत अन्य देवीदेवताको नाचगान गर्ने स्थल भएका कारण र नाटेश्वरी नामकरण भएको स्थानीयको भनाई रहेको छ । ०३४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले हेलिकोप्टरबाट नाटेश्वरी मन्दिरको दर्शन गरेका थिए ।

टाइगर हिल कालाजग्रा : समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाईमा रहेको बाजुराको कालाजग्रा प्राकृतिक तथा धार्मिक हिसाबमा निकै महत्त्वपूर्ण छ । टाइगर हिलका नामले चिनिने कालाजग्रा धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ । यहाँ प्रत्येक बर्ष साउन पुर्णिमाका बेला पुजा हुने गरेको छ । पुजाआजा गर्नको लागि आन्तरिक तथा बाह्य श्रदालु भक्तजन आउने गर्छन् । यहाँबाट बाजुराका ठुला धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका,बुढिनन्दा,हुम्ला,जुम्लालगायत ठाउँमा अग्ला सेताम्य हिमाल,अपी,शैपाल हिमाल लगायतका दृश्यहरु प्रष्ट देख्न सकिन्छ । साथै यहाँबाट बाजुराको सुन्दर क्षेत्र कोल्टी, पाण्डुसैन, पोरखेगढीको पनि दृश्यावलोकन गर्न सकिन्छ । भिमकाय पहाडमाथि उभिएको कालाजग्राबाट सेताम्य हिउँका पहाड, वरपरको मनोरम दृश्य नियाल्दै पर्यटक रमाउने गरेका छन् । वरपर जताततै अग्ला पहाड, टाढाटाढाका सुन्दर हिमाल, वनजंगल, चराचुरुंगी र वन्यजन्तुले मानिसलाई साच्चै स्वर्ग पुगेको आभास हुन्छ । धर्ती स्वर्ग छ भन्ने कुराको आभास यहाँबाट अनुभूती गर्न सकिन्छ । यहाँको भिन्न भू–वनोट, फरक हावापानी र सुन्दर प्रकृतिले गर्दा यो क्षेत्र साच्चै पहाड भित्र लुकेको अर्को नयाँ संसार, विचित्रताको खानी, उपनाम जस्तैः लाग्ने गर्छ । दुई पहाडको थुम्कोमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ । यस क्षेत्रबाट अद्भूत शक्ति र वरदान प्राप्त हुने जनविश्वास रहेको छ । यहाँ अनौठो गुफाताल समेत छ । देवीको वासस्थान रहेको हुँनाले यसलाई कालाजग्रा देवी भनिएको बुढापाखाको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार