सरकारको न्यूनतम साझा कार्यक्रम भोलि सार्वजनिक हुने 

मन्त्रिपरिषद् विस्तार पनि भोलि नै हुने सम्भावना 
सोमबार, साउन १८, २०७८

काठमाडौँ । सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ । थप गर्नुपर्ने केही विषय बाँकी रहे मङ्गलबार पनि छलफल गरेर पूर्ण बनाउने तयारी छ ।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)  र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सम्भवतः मङ्गलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद्को विस्तार गर्ने विषयमा सहमति गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए । 
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो । सत्तारूढ गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरी सरकारको न्यूनतम साझा कार्यक्रम बनाएको हो । कार्यदलमा कांग्रेसका तर्फबाट डा मीनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् । कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयन लगायतका विषय समेटिएका छन् ।  आजको बैठकमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा अधिकतम काम गर्ने विषयमा समेत शीर्ष नेताहरुबीच सहमति भएको बताइएको छ । कांग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको केही दिन बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अब केही दिनमै मन्त्रिपरिषद् विस्तार गरेर सरकारको कामलाई गति दिने निष्कर्षमा समेत शीर्ष नेता पुगेको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार