सहयोद्धा छान्न देउवाको दौडधूप

बिहीबार, साउन १४, २०७८

काठमाडौं । सरकार गठन भएको १७ दिन भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ण आकारको मन्त्रिपरिषद् गठन गर्न सकेका छैनन् । यो अवधिमा प्रधानमन्त्री देउवाले संसद्बाट विश्वासको मत लिइसकेका छन् । विश्वासको मत पाए लगत्तै देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने विश्वास गरिएको थियो । तर मन्त्रिपरिषदले अझै पूर्णता पाइसकेको छैन । देउवा सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । अब जसपा र माओवादी केन्द्रलाई समेटर प्रधानमन्त्री देउवाले भोलि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएको उनी निकटका नेताहरूले बताएका छन् । 
जनता समाजवादी पार्टीको विवाद तथा नेकपा एमाले भित्रको विवादले मन्त्रिपरिषद विस्तारलाई केही पर धकेलेको थियो । जसपाको विवाद सकिएको छ भने एमालेको माधव नेपाल समूहले आफूहरूलाई नकुरी कनै मन्त्रिपरिषद विस्तार गर्न सुझाव दिइसकेको सन्दर्भमा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने देखिन्छ । मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा प्रधानमन्त्री देउवाले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो ।  बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो । बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए ।

काबिल सहयोद्धा छान्न माधव नेपालको सुझाव

सत्तारुढ गठबन्धनको महत्वपूर्ण नेता नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालले देउवालाई काबिल सहयोद्धा चयन गर्न सुुझाव दिएका हुन् ।
प्रमुख अतिथिको रुपमा सहभागी देउवातर्फ हेर्दै नेता नेपालले भनेका थिए, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ ।’

कस्तो बन्दैछ देउवा सरकार
देउवा नेतृत्वको सरकार सरकारमा सहभागी हुने मन्त्रीहरुको सूची तयार भएको छ । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बालुवाटारमा सम्पन्न बैठकले सरकारमा जाने सम्भाव्य मन्त्रीहरुको नामावली तयार पारेको बताइएको छ । नामावली छनोट गर्ने जिम्मा पार्टीका शीर्ष नेतृत्वलाई दिइएको छ । 
जसपा आधिकारिकता विवाद टुङ्गिनु तथा माधव नेपाल समूह तत्काल सरकारमा नजाने बताए पछि अब मन्त्री नियुक्ति प्रक्रिया धेरै पर नजाने देखिन्छ । 
देशमा देखिएको कोभिड माहामारी नियन्त्रण, बाढिपीडित समस्या सामाधानलगायत राज्य संयन्त्रलाई गतिशिल बनाउन सरकारलाई लामो समयसम्म पूर्णता नदिँदा जनमानसमा नैराश्यता आउने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद गठमा अव ढिलाइ गर्न पाँच दलको एकमत छ । 
एमालेको नेपाल समूहलाई मन्त्रालय छुट्टाएर गठबन्धनका बाँकी दल सम्मिलित मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री देउवाले तयारी थालिसकेका छन् । देउवा नेतृत्वको सरकारमा कांग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, मीन विश्वकर्मा, डा. डिला संग्रौलासहितका नेताहरूले मन्त्रीका लागि दाबी गरेका छन् । यीमध्ये दुई जनालाई मन्त्री बनाउन देउवा तयार रहेको बताइएको छ । यसपटक पूर्वसंस्थापनबाट, सुजाता कोइराला, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली तथा सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एकलाई मन्त्री बनाउने गरी कांग्रेसमा छलफल चलाइएको छ । यसअघि प्रधानमन्त्री देउवाले गृहमा बालकृष्ण खाँण, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन् ।
माओवादी केन्द्रले पनि मन्त्री छनोटको कामलाई तीव्रता दिएको छ । सार्वजनिकरुपमै मन्त्री छनोट गर्न निकै दबाब परेको र आफू आतंकित भएको बताउँदै आएका पार्टी अध्यक्ष प्रचण्डले यसपाली सरकारमा पठाउँदा पार्टीमा न्याय, निष्पक्ष र सबै समुदायको प्रतिनिधित्व हुने गरी सबै प्रदेशबाट एक–एक जनालाई मन्त्रिमण्डलमा समेट्ने तयारी गरेको आफ्ना निकटतमहरूलाई बताउने गरेका छन् । देउवा नेतृत्वको यो सरकारले निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेबारी समेत बोकेको हँुदा पार्टी, कार्यकर्ता र नागरिक स्तरमा विवाद देखिए निर्वाचन परिणाममा समेत पार्टीलाई असर पर्ने भएकाले सचेततापूर्वक सरकारमा पठाउने तयारी दलहरुले गरिरहेका छन् । दाहाल निकट स्रोतका अनुसार ‘नेकपा माओबादी केन्द्रको तत्कालीन पदीय संरचना अनुसार पदाधिकारीबाट प्रतिनिधित्व हुने गरी एकजना, स्थायी कमिटीबाट दुईजना, पोलिटब्युरोबाट तीनजना र गत निर्वाचनका बेला विभिन्न पार्टीबाट आएकाहरुलाई पनि सम्मान होस भनेर नवप्रवेशीहरुको तर्फबाट समेत एक गरी सात जनालाई सरकारमा पठाइने तयारी भइरहेको छ । तत्कालीन नेकपा हुँदा पार्टी अध्यक्ष केपी ओलीको गैरराजनीति कार्य एवं असंवैधानिक कदमको विरुद्धमा तथा ओलीसंगको अन्तरसंघर्षमा आफुलाई बलियोसंग साथ दिएका पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ वा आफ्ना पुराना हितैसी नेता कृष्णबहादुर महरामध्ये एकजना सरकारमा जान सक्ने सम्भावना छ । यद्दपी पूर्वसभामुख महरा पछिल्लो समय  विवादित भएकाले उनलाई अहिले नै पठाउँदा नागरिक स्तरमा पार्टी आलोचित हुने चिन्ता प्रचण्डमा रहेको छ ।  आगामी निर्वाचनमा पार्टीलाई जिताउन प्रभावकारी भूमिका निर्वाह गर्न सक्नेलाई पठाउने योजना अनुरुप लोडसेडिङ अन्त्य गरी उज्यालो अभियानको नायक भनेर चिनिएका कर्णाली प्रदेशका जनार्दन शर्मा र वागमती प्रदेशबाट पम्फा भुसाललाई मन्त्री नियुक्ति भइसकेका छन् । यसरी नै  मधेसको तर्फबाट यसपटक मन्त्रीका लागि मातृका यादव, रामेश्वर राय यादव, अमनलाल मोदी, शिवकुमार मण्डल र राधेश्याम पासवानको नाम चर्चामा छ । यादव र रायले यसअघि नै अवसर पाइसकेका छन् । स्रोतका अनुसार ‘केपी सरकारको मन्त्रीमण्डलमा सहभागी भएकाहरुलाई नपठाइने भनी स्पष्ट नीति बनाइएकोले यसपाली पार्टीमा सिनिएर र अवसर नपाएकोहरूको वलियो सम्भावना छ । त्यसैले पनि मोदी, पासवान र मण्डल मध्ये प्रदेश १ बाट मोदी र प्रदेश २ बाट दलित र मधेसीको प्रतिनिधित्व समेत रहने भएकोले राष्ट्रियसभा सदस्य पासवानको सम्भावना पनि बलियो रहेको छ । 
यस्तै महिलाबाट पम्फा भुषाल यसअघि नै मन्त्रिमण्डलमा सहभागी भइसकेकाले महिलामा थप गर्नु पर्दा नेतृ शशि श्रेष्ठ, जयपुरी घर्ती, अञ्जना विशंखे मध्येबाट पनि मन्त्री हुने चर्चा छ । पार्टी भित्र महिला नेतृहरुमा सबैभन्दा सिनियर रहेकी तथा हाल राज्य व्यवस्था समितिको सभापति भएर राम्रो भूमिका निर्वाह गर्दै आएकी नेतृ शशि श्रेष्ठको पनि सम्भावाना छ । देउवा नेतृत्वको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम चर्चामा छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार