सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्न महत्वपूर्ण हिस्सेदार बनेको एमाले भित्रको अल्पमत समूह माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएको छ । एमालेको संस्थापन पक्षसँग पार्टी एकताका लागि चरणवद्ध छलफल भइरहेको जनाउँदै एमालेको माधव नेपाल समूहले आफूहरु सरकारमा नजाने बुधबारको गठबन्धन दलको बैठकमा जानकारी गराएको हो । प्रधानमन्त्री देउवाले बुधबार बिहान गठबन्धन दलहरुको बैठक बोलाएका थिए । बैठकमा एमाले माधव समूहबाट डा. विजय पौडेल सहभागी थिए । बैठकमा प्रधानमन्त्री देउवाले जनताको पक्षमा काम गर्न अप्ठ्यारो परेकाले गठबन्धन दलका नेताहरुलाई मन्त्रीहरुको नाम छिटो उपलव्ध गराइदिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं’ डा पौडेलले भने । बैठकमा डा. पौडेलले आफूहरुलाई नकुर्न र मन्त्रिपरिषद विस्तार गर्न भनेको जानकारी दिए ।
जनमोर्चा पनि सरकारमा नजाने
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि आफूहरु सरकारमा सहभागी नहुने बताएका थिए । ‘हामीलाई सरकारमा जाने म्यान्डेट जनताले दिएका छैनन्, हामी सरकारमा आउँदैनौं, राम्रो कामको समर्थन र नराम्रो कामको विरोध रहन्छ भनेर मैले कुरा राखें’ अध्यक्ष केसीले भने । अध्यक्ष केसीले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर गलत प्रक्रियाको थालनी गरेको भन्दै असन्तुष्ठि व्यक्त गरेका थिए । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भने सरकारमा सहभागी हुनेहरुको नामावली छिट्टै उपलब्ध गराउने बताएका थिए । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिएको र छिटो मन्त्रिपरिषद विस्तार गर्ने निर्णय भएको छ ।
न्यूनतम साझा कार्यक्रम छिटो टुंगो लगाउन निर्देशन
बैठकमा प्रधानमन्त्री देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन आफ्नो दलका महामन्त्री पूर्णबहादुर खड्कालाई निर्देशनसमेत दिएका थिए । खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए । एमालेको माधव नेपाल समूहको प्रतिनिधित्व डा. विजय पौडेलले गरेका थिए ।
उमेश श्रेष्ठलाई मन्त्री बनाएकोमा देउवाले गल्ती स्वीकारे
सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती स्वीकार गरेका छन् । अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने देउवाले प्रतिबद्धतासमेत जनाएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् । काँग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका नेताहरु सम्मिलित बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ?’ भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरे । यस्ता कुराहरुमा आफ्नो पार्टीको विरोध रहने केसीले बैठकमा बताए । राज्यमन्त्री श्रेष्ठबारे केसीले प्रश्न उठाएपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि राजनीतिक नियुक्तिहरु र निर्णयहरु गर्दा गठबन्धनमा सल्लाह भएर मात्र गर्नुपर्ने बताए । राज्यमन्त्री श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले अबदेखि यस्तो हुँदैन भन्दै नेताहरुलाई आश्वस्त पारेका थिए । एमसीसी र संघीयताको विरोध, गठबन्धन छाड्ने चेतावनी
सत्तारुढ गठबन्धनको बैठकमा अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयताको पनि विरोध भएको छ । बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै विरोध गरेका थिए । ‘जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्यो मात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ’ केसीको प्रश्न थियो । उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए । ‘गठबन्धन खाली संघीयता र एमसीसीको पछि लाग्ने हो भने हामी प्रतिपक्षमा बस्छौँ’, केसीको भनाइ थियो ।