नयाँ भनिएका पार्टीहरुलाई जथाभावी गर्ने छुट छैन : पार्वत गुरुङ

'म दोलखाको मात्र होइन सबैको साझा उम्मेदवार हुँ'

आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि दोलखामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पार्वत गुरुङले आसन्न चुनाव केवल सत्ताको प्रतिस्पर्धा नभइ देश, संविधान र लोकतन्त्र जोगाउने निर्णायक अवसर भएको बताएका छन् । नेपाल न्यूज बैँकसँगको विषेश कुराकानीमा उनले जनतामा निराशा र राजनीतिक दलप्रति अविश्वास बढेको उल्लेख गर्दै उनले चुनावको उद्देश्यबारे सरकारले स्पष्ट सन्देश दिन नसकेको आरोप समेत लगाए । उनले वर्तमान सरकारले राजनीतिक दलहरूलाई कमजोर बनाउने, संविधान र लोकतान्त्रिक मूल्यहरूलाई क्षति पुर्याउने प्रयास गरिरहेको दाबी गरे। यस्ता परिस्थितिमा प्रतिगमनको विरोध गर्दै सबै लोकतान्त्रिक शक्तिहरू निर्वाचनमा सहभागी हुनुपर्ने उनको भनाइ छ । एमाले लोकतन्त्र र संविधान जोगाउने अग्रपंक्तिको शक्ति भएकाले जिम्मेवारीपूर्वक चुनावमा होमिएको उनले बताए । गुरुङले ‘पुरानो र नयाँ पार्टी’ भन्ने भाष्यलाई अस्वीकार गर्दै नयाँ भनिएका दलहरूले छोटो समयमा नै जनतामा निराशा बढाएको टिप्पणी गरे । ‘नयाँ भनिएकाहरु जथाभावी गर्ने छुट छैन्,’ उनले भने,‘संस्कार, संस्कृति र विधिमा आधारित राजनीति बिना देश अघि बढ्न सक्दैन ।’ उनका अनुसार सस्तो लोकप्रियता र स्टन्टबाजी दीगो समाधान होइन । पार्टीभित्र निर्णय भइसकेपछि त्यसलाई स्वीकार गर्ने एमालेको परम्परा रहेको उल्लेख गर्दै उनले पार्टीमा गुटबन्दीको प्रचार गलत रहेको स्पष्ट पारे । व्यक्तिगत असन्तुष्टि हुन सक्ने भएपनि समग्रमा एमाले एकताबद्ध भएर उम्मेदवारलाई जिताउने इतिहास रहेको उनको दाबी छ । नेपाली कांग्रेसमा देखिएको विभाजनप्रति टिप्पणी गर्दै गुरुङले त्यसले पार्टी मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाएको बताए। युवाको नेतृत्व आवश्यक भएपनि विधि र प्रक्रियाबाट आउनुपर्नेमा जोड दिँदै उनले गलत बाटोबाट आएको परिवर्तनले देशलाई दिंग्भ्रमित बनाउने चेतावनी दिए । आफ्नो प्रमुख एजेन्डा प्रस्तुत गर्दै गुरुङले दोलखालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘म जितौं वा हारौं, असल नागरिकको हैसियतले भ्रष्टाचारविरुद्ध लडिरहन्छु,’उनले भने । पूर्वाधार विकाससँगै आर्थिक, सामाजिक र नैतिक विकासमा जोड दिने उनको भनाइ छ । दोलखालाई उत्पादनशील, उद्यमशील र सक्षम नागरिक भएको नमुना जिल्ला बनाउने लक्ष्य रहेको बताउँदै उनले सबै राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थासँग सहकार्य गर्ने धारणा राखे । आफू एमालेको उम्मेदवार भए पनि दोलखाको साझा उम्मेदवारको रूपमा काम गर्ने आत्मविश्वास उनले व्यक्त गरे । विगतका अनुभव स्मरण गर्दै गुरुङले भूकम्प, महामारी र पुनर्निर्माणका कठिन समयमा पनि दोलखाका लागि काम गरेको बताए । प्रचारभन्दा काममा विश्वास गर्ने बताउँदै उनले पत्रकारहरूलाई आफ्नो व्यक्तिगत र राजनीतिक जीवनबारे अनुसन्धान गर्न खुला चुनौती दिए । ‘दोलखाली जनताले विश्वास गरे म जित्छु, अन्तिम फैसला जनताकै हातमा छ,’ उनले बताए ।

web-post-2_c3ee5c48-1769688738.png
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार