सरकारले फे¥यो प्रदेश प्रमुख

लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा  पृथ्वीमान गुरुङ प्रदेश प्रमुख
मंगलबार, साउन १२, २०७८

काठमाडौँ । सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरू परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।  मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको हुने भएका छन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । अघिल्लो सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।  यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन् ।  बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई  कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै छन् ।  यसैगरी बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्बाट भएको उनले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार