प्रतिनिधिसभा  : कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

मंगलबार, साउन १२, २०७८

काठमाडौँ । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरलाई अझ बढी सङ्क्रमणको जोखिम आङ्कलन गरिएकाले स्वास्थ्य पूर्वाधार र उपचारका क्षेत्रमा सोही अनुसारको व्यवस्थापन तयारी गर्न माग गरिन् । उनले कोरोनाविरुद्धको खोप, अक्सिजन, आइसोलेशन केन्द्रलाई समयमै व्यवस्थित तुल्याउन सुझाव दिइन् ।  नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले संविधान निर्माणका समयमा राजनीतिक स्थिरताका लागि सदनलाई पूर्णअवधि पुनः सञ्चालन हुन दिने सहमति विपरीत प्रतिनिधिसभा भङ्ग किन गरियो भनी प्रश्न गर्दै समाजमा देखिएका बेथितिलाई अन्य गर्दै जनताले उठाएका जल्दाबल्दा मुद्दालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।  सांसद आशा विकले कोरोनाका कारण शिक्षाको विकासका साथै बालमस्तिष्कमा परेको प्रभावबारे समयमै सचेत रही आगामी कार्ययोजना बनाउन आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
सांसद इन्दुकुमारी शर्माले नागरिकता विधेयक समयमा पारित नहुँदा धेरै नेपाली नागरिकले झमेला बेहोर्नु परेको घटना सुनाउँदै छिटो निष्कर्षमा पु¥याउन सुझाव दिइन् ।  नेपाली कांग्रेसकी उमा रेग्मीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत स–सना योजनामा लथालिङ्ग अवस्थामा रहेकाले त्यसलाई जिम्मेवारीका साथ पूर्णता दिने सम्बन्धमा सरकारले चासो लियोस् भनिन् । 
नेकपा एमालेका कृष्णप्रसाद दाहालले वर्तमान सरकारले सुकुम्बासी समस्या सम्बोधन गर्नुको साटो आयोग नै किन खारेज गर्नुप¥र्यो भनी प्रश्न गरिन् । 
सोही दलका कृष्णबहादुर राईले गुहेश्वरी–वाग्मती कोरिडोर खाल्डाखुल्डीका कारण अस्तव्यवस्त रहेकाले सुधारका लागि पहल होस् भने । 
एमालेकै कृष्णभक्त पोखरेलले लगातरको वर्षाका कारण आएको बाढीबाट चितवनमा ठूलो भौतिक क्षति भएकोबारे जानकारी गराउँदै पहिरो जोखिम बस्तीलाई स्थानान्तरणका लागि एकीकरण बस्तीको कार्यक्रम अघि बढाउन माग गरे ।
सोही दलका खेमप्रसाद लोहनी कोभिड–१९ खोपको व्यवस्थापन र वितरणमा सरकार कमजोर देखिएकाले तत्काल कमजोर सुधार्न सरकारलाई सुझाव दिए । नेपाली कांग्रेसका गगनकुमार थापाले संसद्लाई हेप्ने र अदालतलाई अपमान गर्ने छुट विगतको जस्तो अब नयाँ सरकारलाई नरहेको जनाउँदै सदनले गुमेको अधिकारलाई फिर्ता ल्याउन सफल भएको भनी प्रशंसा गरे । 
नेकपा एमालेका गजेन्द्र महतले प्राप्त अवसर र समयको सदुपयोग गरी जनता र देशहितका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए । सांसद गोपालबहादुर वमले विकास र समृद्धिका आधारका रुपमा रहेको सडक र विद्युत्का कार्यक्रमलाई तीव्रगतिमा गाउँगाउँसम्म विस्तार गर्ने कार्यक्रम बनाउन माग गरे ।  एमालेकी गङ्गा चौधरी सत्गौवाले लोकतन्त्रमा फरक विचार राख्ने कसैलाई पनि निस्केर जा भन्न नसुहाउने भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको घटनाले समुदाय विशेषको अपमान भएको विचार प्रकट गरिन् । 
सोही पार्टीका घनश्याम खतिवडाले पछिल्ला दिनमा पुनः कोरोना सङ्क्रमण बढिरहेकाले त्यस विरुद्धको खोपको सुनिश्चित गर्न सरकारलाई सुझाव दिए । नेकपा माओवादी केन्द्रका चुडामणि खड्काले गोर्खा जिल्लाका बाढीपहिरो पीडितका लागि राहत प्याकेज उपलब्ध गराउन माग गरे । 
सांसद् जयकुमार राईले बिपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको भनिएको आर्थिक हिनामिनाका घटनाको सत्यतथ्य बाहिर ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए । 
एमालेका झपटबहादुर रावलले अदालतको फैसलाका कारण एक कार्यकालमा तीनपटक प्रतिनिधिसभा सदस्य हुन पाएकामा गौरव गर्दै कोरोना विरुद्धको खोपको प्रभावकारी व्यवस्थापनका साथै भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका आधारमा काम गर्न सरकारलाई सुझाव दिए ।
माओवादी केन्द्रकी अमृता थापा कोरोनाविरुद्धको खोपका लागि मात्र नभई खोपलगायतको प्रमाणित गरेको काजग लिन पनि घण्टौँ लाइनमा बसेर सास्ती भोग्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ भनी प्रश्न गरिन् । 

सांसदले उठाए बाढीपहिरोको विषय
प्रतिनिधिसभामा सांसदहरूले बाढी, पहिरोबाट भएको क्षति, कोभिड सङ्क्रमण जोखिम नियन्त्रण र बलात्कारका घटनाको सत्यतथ्य सार्वजनिकलगायत विषय उठाएका छन् ।   प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै सांसदले मुलुकका जल्दाबल्दा र मूलभूत विषयमा सरकारले कार्ययोजना नै बनाएर नागरिकलाई परेको पीडालाई सम्बोधन गर्न सुझाव दिएका छन् । नेकपा (एमाले) का लालबाबु पण्डितले कोरोनाको तेस्रो लहरको जोखिमबाट नागरिकलाई बचाउन र सुकुम्बासीका समस्या समाधानका लागि गठन भएको भूमिसम्बन्धी आयोगलाई निरन्तरता दिन माग गरे । उनले भने, ‘यो सरकार गठन हुनासाथ भूमिसम्बन्धी आयोग विघटन गरिएको छ, जुन कार्य ठीक होइन । यो मन्त्रिमण्डल देश र जनताको हितमा काम गर्छ कि गर्दैन भनेर जनताले चासोका साथ हेरिरहेका छन् ।’
नेपाली कांग्रेसकी पुष्पा भुसालले जनस्वास्थ्य विज्ञले कोरोनाको तेस्रो लहर आउन सक्ने पूर्वानुमान गरेकाले त्यसको तयारीका लागि आवश्यक व्यवस्थापन समयमै गर्न सुझाव दिइन् । कोभिसिल्ड पहिलो खोप लगाएकाले अर्को खोप लगाउन नपाएको विगतको घटना सुनाउँदै उनले भनिन्, ‘ज्येष्ठ नागरिक र बालबालिकाको जीवन रक्षाका लागि खोपको व्यवस्थापन र विदेश जाने युवालाई तत्काल जोन्सन एण्ड जोन्सन खोप लगाउने व्यवस्था होस् ।’
सांसद हरिराज अधिकारीले कोरोनाविरुद्धको खोपमा पहुँचको कुरा सुनिएको हुँदा त्यसलाई हटाएर सबैलाई खोपको सुनिश्चितता गर्न सुझाव दिँदै गोरखाका बाढी, पहिरो प्रभावित पालिकालाई विशेष प्रभावित क्षेत्र घोषणा गर्न माग गरे । 
जनता समाजवादी पार्टीका डा.सुरेन्द्र यादवले महोत्तरीका कतिपय नदीमा उत्खननका काम तीव्र भइरहेकाले त्यसको नियन्त्रणको आवश्यकता औँल्याए ।
नेकपा (एमाले) की विद्या भट्टराईले राष्ट्राध्यक्षमाथि समेत प्रयोग भएका शब्दले समाजमा भइरहेको महिला हिंसा बढिरहेको देखाएको भन्दै आमनागरिकमा सकारात्मक सोच र असल व्यवहारको संस्कार स्थापित गर्न जरुरी रहेको बताइन् । 
नेपाली कांग्रेसका देवप्रकाश तिमल्सिनाले बाढी, पहिरो र डुबानको क्षति यकिन गरेर मात्र नहुने भएकाले पुनर्वास कार्ययोजना आवश्यक रहेको बताए ।  
सांसद केदारप्रसाद सिग्देलले नेपालमा पहिलोपटक कोरोना सङ्क्रमण देखिँदा कुनै तयारी नभए पनि अहिलेसम्म परीक्षण र स्वास्थ्य उपचारको अनुभवले धेरै पाठ सिकाएको हुँदा आत्तिहाल्नुपर्ने अवस्था नरहेको धारणा व्यक्त गरे । उनले भने, ‘यसअघिका सरकारले यो गर्नुपर्छ भनेर जसरी तपाईले प्रतिपक्षमा रहेर सुझाव दिनुभएको थियो, अहिले त्यो कुरा आफैँले गरेर देखाउनुपर्छ ।’ कांग्रेसकी डा.डिला सङ्ग्रौलाले सरकारले कोरोना नियन्त्रण, अपराध नियन्त्रण र प्राकृतिक प्रकोपका प्रभावितलाई राहतका कार्यक्रम अघि बढाउन सुझाव दिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार