यमनमा प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यलाई लक्षित गरी आक्रमण कम्तीमा २२ को मृत्यु

बिहीबार, पुस १६, २०७७

यमन । यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । ५० भन्दा बढी घाइते भएको बताइएको छ । युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको थियो ।  घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ । तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन् । सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतंकवादी कार्य’ गरेको आरोप लगाएका छन् । सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ । साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनःस्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो । त्यहाँ द्वन्द्वका कारण १ लाख १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ । कोभिड–१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ ।

स्वागतका लागि एयरपोर्ट पुगेको भिड
भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देखिन्छ । मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए । त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो । समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुई वटा विस्फोट सुनेको बताएका छन् । अन्तर्राष्ट्रिय समन्वय सम्बन्धी मामिला हेर्ने एकजना मन्त्रीले पनि दुई पटक विस्फोटन भएको बताए । हालसम्म घटनाको कारण स्पष्ट हुन सकेको छैन ।

साउदीद्वारा यमनसँगको सिमाना बन्द
साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्गमा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ । अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ । यमनको एउटा समाचार वेबसाइट अल–मस्दरले श्रम मन्त्रालयका उपसचिव मारिएको र दुई जना उप–मन्त्री घाइते भएको उल्लेख गरेको छ । प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो । सन् २०१९ को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो ।–बीबीसी 
 

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार