सोसल मिडिया
Contact Us
युनिकोड
सुनाकोठी (ललितपुर)। सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरको नेवार समुदायको अनिवार्य परिकार यःमरीको प्रवद्र्धनका लागि आज आइतबार ललितपुर महानगरपालिका २७ नं. वडा कार्यालय परिसरमा एक कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठी तथा उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आयोजनामा ‘यःमरी प्रवद्र्धन २०८२’ नाम दिएर कार्यक्रम आयोजना गरिएको हो । उक्त प्रवद्र्धन कार्यक्रमलाई महानगरको २७ नं. वडामा क्रियाशील निजी तथा गैर सरकारी संस्थाहरूले सहयोग गरेका थिए । वडा भित्र क्रियाशील २७ वटा महिला समूहका सदस्यहरूले बिहानै देखि यःमरी तयारी गर्न सहयोग गरेका थिए । कार्यक्रममा उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक एवम् ललितपुर महानगरपालिका ५ नं. वडाका वडाअध्यक्ष विकास मान श्रेष्ठले नेवारहरूले ‘मन पर्ने रोटी’ भन्ने यःमरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण गरेसँगै यो परिवार अब कुनै एउटा मात्रै समुदायको नभएको जनाउँदै सबै नेपालीको मिठो परिकार भएको बताए । यःमरीको प्रवद्र्धनका लागि महानगरले केही दिनअघि पाटन मंगलबजारमा पनि यस्तै कार्यक्रम गरेको जनाउँदै उनले यःमरी स्वास्थ्यका लागि पनि उपयुक्त भएको तर्क गरे । कार्यक्रमका सभापति एवम् ललितपुर महानगर २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जनले चक्रपथ बाहिर पनि पाटनमा चर्चित खाद्य परिकारलाई ल्याउन सुझाव दिए अनुसार नै यःमरीको प्रवद्र्धनका लागि वडाले आज कार्यक्रम राखेको जनाए । कार्यक्रममा वडा सदस्य रामदेवी महर्जनले कार्यक्रममा सहभागीहरूलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका सदस्य सानुकाजी तोलाङगे, २७ नं.वडाका वडासदस्य निरोज महर्जन, श्यामकृष्ण महर्जन, वडा नं १४ का वडा सदस्य सनत कार्की, वडा नं. ३ का वडासदस्यहरूको उपस्थिति रहेको थियो । वडासचिव भीमसेनप्रसाद रिमालसहित वडा कार्यालयका कर्मचारी, सुनाकोठी स्वास्थ्य चौकीका कर्मचारी, बौद्ध जनविहारका ज्येष्ठ नागरिक, महिला समूहका सदस्यहरूको उपस्थिति रहेको थियो । केही समय अघि ललितपुर महानगरको संयोजन र सक्रियतामा यः मरीलाई संस्कृति तथा पर्यटन मन्त्रालयले गत साउन २३ गते अभौतिक सम्पदाको सूचीकरण गरेको हो । अभौतिक सांस्कृतिक सम्पदा भन्नाले नेपालमा परम्परागत रूपमा बसोबास गर्दै आएका जातीय समुदायका एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै तथा अभ्यास भई आएका सांस्कृतिक विधाहरू सम्झनुपर्छ । त्यस्ता सांस्कृतिक विधामा मौखिक परम्परा तथा अभिव्यक्ति, अभिनय तथा मञ्चन कला, सामाजिक व्यवहार, अनुष्ठान र जात्रा पर्वहरू, प्रकृति एवं ब्रह्माण्डसम्बन्धी ज्ञान, परम्परागत कलाकौशल, उत्पादन गर्ने सीप र प्रविधि, परम्परागत खेल, खाद्य परिकारका सीप, पहिरनलगायत आभूषणसम्बन्धी ज्ञान, सम्पदा अभ्यास, कार्यान्वयन तथा अभ्यास गर्ने स्थल, स्मरणमा रहेका तर अभ्यासमा नरहेका अमूर्त सांस्कृतिक सम्पदा गरी १० वटा डोमेन कार्यविधिमा उल्लेख छ । नेपाल भाषामा यःमरीको अर्थ मन पर्ने रोटी हो । पछिल्लो एक दशकमा नेवार समुदायले खाँदै आएको यःमरी पछिल्लो एक दशकमा काठमाडौंमा निकै चर्चित बनेको छ । यःमरी सुरुमा काभ्रे जिल्लाको पनौतीमा पकाइएको भन्ने किंवदन्तीहरूमा उल्लेख छ । एक किसान दम्पतीले काठमाडौंदेखि पुगेका ज्वाइँलाई मिठो खुवाउन घरमा भएको चामलको पिठो र चाकु प्रयोग गरेर बनाएका र उनलाई मन परेको रोटी भएकाले यसलाई नेवारहरूले ‘मन पर्ने रोटी’ भन्न थालेको किंवदन्तीमा उल्लेख छ ।